४७ हजार कुखुरा नष्ट



हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ। जिल्ला पशु सेवा कार्यालयका अनुसार प्रभावित क्षेत्रका कृषकको फार्मबाट आठ हजार १०५ अण्डा र ४१८ केजी दाना खाल्टोमा पुरिएको छ।

यही चैत २ गतेदेखि कृषि मन्त्रालय काठमाडौँबाट आएका पशु चिकित्सकसहितको प्राविधिक टोलीले आज बिहानसम्म स्थानीय नागस्वतीको करिब ३२ कुखुरा फार्ममा अनुगमन गरी बिरामी चल्ला र कुखुरालाई नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख चिकित्सक डा. चेतनारायण खरेलले बताए।

उक्त वडाको विभिन्न फार्ममा स्थानीय कृषकले उत्पादन गरेको कुखुरा र चल्ला, अण्डा र दाना गरी करिब १ करोड ५० लाख बराबरको सम्पत्ति क्षति भएको प्रभावित क्षेत्रका कृषक एवं हेटौँडा उपमहानगरपालिका–७ का वडाध्यक्ष राजन थापाले जानकारी दिए। सो क्षेत्रमा अब बर्डफ्लु रोग नियन्त्रणमा ल्याइसकेको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्