जहाँ जनकले नयाँ जीवन पाए त्यहीँ प्राण गयो



कैलाली : लागु पदार्थको दुर्व्यसनीमा नराम्रोसँग फसेका जनक ढुंगाल त्यसबाट निस्कनै सकिरहेका थिएनन् । तर रिचमण्ड फेलोसीप नेपाल नामक संस्थाले धनगढीमा सञ्चालन गरेको सुधार गृहले उनलाई नयाँ जीवन दियो । लागूपदार्थ सेवन नगरी बस्नै नसक्ने जनक सामान्य जीवनमा फर्किए । त्यसपछि उनले सोही सुधार गृहमा स्टोर किपरको काम गर्न थाले । 

तर, सुधार गृहमा रहेका दुर्व्यसनीलाई खाना खुवाएर सुतेका भनिएका जनक कहिल्यै नउठ्ने गरी निदाए । दुर्व्यसनीलाई खाना दिएपछि उनी गृहकै माथिल्लो कोठामा सुतेका थिए । सुधार गृहका प्रमुख रामबहादुर रजकका अनुसार बिहिबार बेलुका खाना खाएर सुतेका जनक राती १० बजे मृत फेला परेका थिए । 

पोस्टमार्टम रिपोर्टमा मृतकको घाँटीको हड्डी टुटेको अवस्थामा रहेको र शरीरभरि घिसारेको जस्तो घाउ रहेको देखाइएको छ । 

पोस्टमार्टम रिपोर्टमा अस्वाभाविक चोटपटक देखिएपछि उनको हत्या भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका छन् । जनकका आफन्तले शुक्रबार रिचमण्ड फेलोसीप नेपाल नामक संस्थाले सञ्चालन गरेको सुधार गृहविरुद्ध जाहेरी दर्ता गराएका हुन् ।  

जनकका दाजु अनसिङ ढुङ्गालले भाइको मृत्यु शङ्कास्पद रहेको बताए । उनले भने ‘सुधार गृहले भाइलाई दुव्र्यसनी बाट छुटाएर नयाँ जीवन दियो, आज त्यही जीवन सुधार गृहले लग्यो ।’

जनक ४ वर्ष अगाडी दुर्व्यसनीमा फसेपछि सुधार गृह पुगेका थिए । पछि दुर्व्यसनको लतबाट छुटेका जनकलाई केन्द्रमै स्टोर किपरको काम दिइएको थियो । उनका श्रीमती र एक छोरा छन् । 

प्रतिक्रिया दिनुहोस्