उपचार गर्न नमानेका निजि अस्पतालविरुद्ध कारवाहीको माग गर्दा नेविसंघमाथि प्रहरीको लाठीचार्ज



पर्साः उपचारमा लापरवाही गर्ने निजि विरुद्ध आन्दोलनमा उत्रेका नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघका जिल्ला सभापती सहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नेवि संघका जिल्ला सभापती विकास तिवारी, उपाध्यक्ष शेष हजरा र ठाकुरराम बहुमुखी क्याम्पसका ईकाई सभापती मनोज साहलाई नियन्त्रणमा लिएको हो ।

वीरगन्जको घण्टाघर चोकमा भेला भई दोषी अस्पताल र चिकित्कसलाई कारवाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँन पुगेका थिए । प्रमुख जिल्ला अधिकारी ज्ञापन पत्र नलिएपछि मुल गेटमै स्थानिय प्रशासन विरुद्ध नाराबाजीमा उत्रेका थिए ।

घटनास्थल पुगेका वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पर्नेरुको नेतृत्वमा रहेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेपछि स्थिती तनावपूर्ण बनेको थियो । प्रहरीले प्रर्दशनमा उत्रेका विद्यार्थी नेताहरु माथि अन्धाधुन लाठीचार्ज गर्दै नियन्त्रणमा लिएका हुन । प्रहरीको लाठीचार्ज बाट दर्जनौ विद्यार्थी नेता घाईते समेत भएका छन ।

नेवि संघका विद्यार्थीहरुले कोरोना संक्रमणको बहानामा उपचार गर्न नमानेका दोषी चिकित्सक र अस्पताललाई कारवाही गर्नुपर्ने, अस्पतालले भर्ना नलिदा अकालमै ज्यान गुमाएका परिवारलाई उचित क्षतिपुर्ती र न्याय दिनुपर्ने माँग अघि सारेका छन ।

उनीहरुले नारायणी अस्पतालाई कोभिड मुक्त घोषणा गरी पुन जेनरल सेवा संचालनमा ल्याउनुपर्ने, निषेधाज्ञाबाट प्रभावित गरिब जनतलाई राहत उपलब्ध गराउँनु पर्ने र कोरोनाको भयावह स्थितीलाई समान्य बनाउँन उचित स्वास्थ्य सामाग्री, चिकित्सक सेवा सुविधाको यथा सिघ्र व्यवस्थापन गर्नुपर्ने माँग राखेका छन ।

पर्सामा कोरोना संक्रमितको संख्या पुगेर १०४८ भएको छ । ज्यान गुमाउँनेको संख्या पनि २२ पुगि सकेको छ । बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा आज १६ औं दिन पुगेको छ । संक्रमण फैलने बहानामा यहाँका निजि अस्पतालले विरामीलाई उपचार गर्न नमानेपछि अकालमै ६ जनाले ज्यान गुमाई सकेका छन ।

स्थानिय प्रशासनले विरामी उपचार नगर्ने निजि अस्पताललाई कारवाही गर्ने चेतावनी दिएका दिननै तराई हस्पताल, भवानी हस्पीटल र नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा तीनजनाको छटपटाएर नै ज्यान गुमाउँनु परेको थियो । निजि अस्पतालहरुले उपचारमा लापरवाही देखाउँदा समेत प्रशासनले कुनै कारवाही नगरेका कारण पर्साका विभिन्न सरोकारवाला र स्थानिय आन्दोलित बनेका हुन् ।

प्रकाशितः साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्