एपिएफ मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा



मकवानपुर : विभागिय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) हेटौंडामा जारी मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै एपिएफ अघिल्लो चरणमा प्रवेश गरेको हो।

एपिएफको जितमा एक मात्र निर्णायक गोल खेलको ३९ औं मिनेटमा हरि कार्कीले गरेका थिए।  हरि नै खेलको ‘म्यान अफ दी म्याच’ हुँदै १० हजार प्राप्त गरे। प्रतियोगितामा शनिबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा घरेलु टोली मकवानपुर ११, विदेशी क्लब दाफिन्स एफसीसहित ‘ए’ डिभिजनका आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैंया, मेडल र प्रमाणपत्र पाउने छन्।

प्रतिक्रिया दिनुहोस्