कोरोना संक्रमित उपचार गराउन गएपछि दमक अस्पताल बन्द



दमकः कोरोना संक्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ ।

कोरोना भाइरस संक्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको अस्पताल स्रोतले बताएको छ । ती प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्थ्य जाँच गराउन गएका थिए ।

ती प्रहरीमा कोरोना भएको रिपोर्ट आएको दमक नगरपालिकाले जनाएको छ। गत बुधबार उनीसहित दमकबाट पठाइएका एक सय ७ जनामध्ये हिजो ४७ जनाको रिपोर्ट आएको थियो। जसमा उनमा मात्र कोरोना देखिएको हो ।

साथीसँगै हस्पिटलमा ज्वरोसहित रूघाखोकी लागेको भन्दै स्वास्थ्य परीक्षण गर्न आएका खुलेपछि सावधानीस्वरुप हस्पिटल बन्द गरिएको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले बताए । उनले कन्ट्याक्ट ट्रेसिङ्गको रिपोर्ट नआएसम्म सम्पूर्ण सेवा बन्द गरिएको जनाएका छन् ।

नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य–सचिव कुवेर भट्टराईले ३–४ दिनमा संक्रमितको सम्पर्कमा आएका र हस्पिटलमा भेट गरेकाको खोजी गरी तिनीहरु सबैको परीक्षण गरिने बताए ।

प्रकाशितः साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्