किशाेरीमाथि सामूहिक बलात्कारमा संलग्न टिपर चालक पक्राउ



काभ्रे : किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा काभ्रे मण्डन देउपुर नगरपालिका–७ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ३ चैत साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने चारमध्ये तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ।

मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा मण्डन देउपुर–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

अर्का एक किशोर भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दनुवार र राई क्रसर उद्योगका टिपर चालक हुन् भने रामकुमार सहचालक हुन् । नदीमा बालुवा सङ्कलन गर्ने ती किशोरीलाई डाँडखोला नजीक खोलाबाट सो समूहले टिपरमा लिएर गएका थिए।

पीडितका परिवारले यही चैत ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जोहरी दर्ता गरेका छन्। जिल्ला प्रहरीको टोलीले जाहेरी दर्ता गरेकै दिन आरोपित तीन जनालाई क्रसर उद्योगबाटै पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्