राजापाका कार्यकर्ताहरुले सरकारी कार्यालयमा कालोझण्डा गाडे



राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका छन् ।

मधेशी जनतालाई दमन गरी २०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउने कार्यक्रम अन्तरगत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेको राजपाका सह महामन्त्री गजेन्द्र मण्डलले बताए ।

बुधबार बिहानैदेखि सदरमुकाम राजविराज सहितका जिल्ला प्रमुख बजारहरुमा राजपाका नेता कार्यकर्ताहरु कालोझण्डासहित प्रर्दशन गरेका छन् । प्रदर्शन र सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने कार्यक्रममा राजपाबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु समेत सामेल छन् ।

उनीहरुले विभिन्न स्थानीय तहको कार्यालयमा समेत कालो झण्डा गाडेका छन् । राजपाले दिउँसो राजविराजमा बृहत विरोध कार्यक्रम गर्ने तयारी गरेको छ । विरोध सभालाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्