एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित



काठमाडौंः कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो भदौ १५ गते गर्ने भनिएको १९ औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

एन्फा प्रवक्ता किरण राईले सोमबार विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी गराएका हुन् । कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो । यसअघि एन्फाले गत चैतमा साधारणसभा स्थगित गरेको थियो ।

सरकारले कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गोष्ठी, भेला र सम्मेलन गर्न निषेध गरेकाले साधारणसभा स्थगित गर्नुपरेको प्रवक्ता राईले बताए । संक्रमणको दर बढ्न थालेको र जोखिमलाई ध्यानमा राख्दै साधारणसभा स्थगित गरिएको उनको भनाइ छ ।

प्रकाशितः साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्