प्रदेश २ सभा बैठक बस्दै : प्रदेश सरकारमातहत रहलान् सीडीओ ? 



जनकपुर : लामो समयदेखि बस्न नसकेको प्रदेश २ सभाको बैठक चैत १४ गते ३ बजे बस्ने भएको छ।

यसअघि फागुन ४ गते बैठक बसेको थियो भने फागुन १८ गते दोस्रो अधिवेशन अन्त्य भएको घोषणा गरिएको थियो।  वीरगन्जस्थित बीपी उद्यानको नाउँमा रहेको जग्गामा प्रदेश सरकारले जबर्जस्ती सहिद पार्क निर्माण गर्न खोजेको भन्दै कांग्रेसले विरोध गरेपछि बैठक अवरुद्ध भएको थियो। त्यसपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन।

अब बस्ने बैठकले प्रदेशसँग सम्बन्धित केही महत्वपूर्ण विधेयक पेस गर्ने बताइएको छ। संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफूमातहत राख्नेगरी विधेयक ल्याइरहेका बेला प्रदेश २ सरकारले छुट्टै प्रशासनिक अधिकार राख्ने विधेयक तयार पारेको छ।

प्रदेश सरकारमातहत सबै प्रमुख जिल्ला अधिकारी राख्ने गरी प्रदेश प्रशासनसम्बन्धी विधेयक तयार पारेको छ। मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको प्रदेश प्रशासनसम्बन्धी विधेयक तेस्रो अधिवेशनमा पेस हुने बताइएको छ। 

यसैगरी प्रदेशभित्र उद्योग सञ्चालन तथा व्यवस्थापन गर्न तयार पारिएको विधेयकसमेत तेस्रो अधिवेशनको क्रममा प्रदेशसभा बैठकमा प्रस्तुत हुन सक्ने बताइएको छ। प्रदेश सरकारले हालैमात्र प्रदेश २ मा नयाँ खोलिने उद्योगहरुलाई २० वर्ष कुनै कर नलाग्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्