लामो दुरीका यातायात र हवाई उडान भदौ १५ गतेसम्म रोक्ने सरकारको निर्णय



काठमाडौं : सरकारले लामो दुरीका यातायात र आन्तरिक तथा बाह्य हवाई उडान भदौ १५ गतेसम्म रोक्ने निर्णय गरेको छ। यस अगाडि साउन ५ गते मा बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात, आन्तरिक तथा बाह्य हवाई हवाई उडान भदौ १ गतेदेखि सुचारु गर्ने निर्णय गरेको थियो। 

आइतबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायात खुला नगर्न सरकारसमक्ष सिफारिस गरेको थियो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले साउन ५ को मन्त्रिपरिषद् निर्णय सच्याउन सिफारिस गरेको आग्रह गरेको थियो।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले  सीसीएमसीको सिफारिस अनुसार नै भदौ १५ गतेसम्म नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनकाअनुसार २ सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाबाट यातायातका साधन भित्रन र बाहिर जान नदिने निर्णय भएको छ।

बैठकले भारतमा संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले सीमा नाका कडाई गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न दिने भनेपछि हाललाई भर्ना कार्यक्रम स्थगित गर्ने भएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित : साउन २७, २०७७

प्रतिक्रिया दिनुहोस्