‘ब्लड क्यान्सर लागेपछि मलाई श्रीमानले छोडे’



कैलाली : १७ बर्षको कलिलै उमेरमा विवाह गरेकी कैलाली बर्दगोरिया गाउँपालिका २ की मीना बमले जब आफूले क्यान्सर लागेको श्रीमानलाई बताइन्, त्यसपछि उनी एक्ली भइन्। क्यान्सर लागेकै कारण उनलाई श्रीमानले छाडेर गए। 

दुई वर्ष भयो उनलाई ब्लड क्यान्सर भएको। उनी अहिले बेसहारा बनेकी छन्। आफूलाई यस्तो अवस्थामा लोग्ने छोडेर गएको भन्दै प्रहरीकहाँ उजुरीसमेत दिएकी थिइन् उनले। तर, प्रहरीले उनको कुरा सुनेनन्। 

उनी अहिले माइतीको शरण छिन्। लोग्नेले छाडेर गएपछि उनको आर्थिक अवस्था खस्कियो। बिरामी भएपछि काम गर्न सकिनन्। चिकित्सकले उनको उपचार खर्च १० लाख बताएको मीनाकी आमा शारदाले बताइन्। शारदाले भनिन्, ‘आफूसँग छोरीको उपचार गर्ने पैसा छैन। पैसा नभएर घरमै त्यसै राख्नुपरेको छ।’

छोरीको उपचारमै सबै पैसा सकेको भन्दै उनले गुनासो गरिन्। ‘सबै सम्पत्ति सकियो, पाँच कठ्ठा जग्गा पनि बेचिसकियो,’ भनिन्, ‘अब त यही सानो घर मात्र बाँकी छ, यो पनि बेचे कहाँ गएर बस्ने?’ छोरीको उपचार गर्न काठमाडौंदेखि, चितवन र भारतको लखनऊसम्म लगेको र पछि रकम अभावले उपचार सम्भव नभएको दुःख पोखिन्।

सहयोग माग्दै पत्रकार सम्मेलन

मीनाले शनिबार धनगढीमा पत्रकार सम्मेलन नै गरी उपचारमा सहयोग गर्न सबैलाई अपिल गरिन्। आफन्तको पिठ्युँ चढेर धनगढी ल्याइएकी मीनाले पत्रकारहरुसँग रुँदै सहयोग मागिन्। रोग बढ्दै गएपछि उनी हिँडडुल गर्न नसक्ने भएकी छन्। विस्तारै उनको शरीरका जोर्नीलगायतले काम गर्न छाडेका छन्। जसले गर्दा उनी परनिर्भर हुँदै गएकी छन्। उनलाई हेर्न एकजना ढुक्कैसँग बस्नुपर्ने बाध्यता रहेको मीनाका परिवारले बताउँछन्। 

मीनालाई सहयोग गर्न चाहनेले यस ९८४५९६००६५ र ९८६४३०९९६५ मा फोन सहयोग गर्न सक्ने उनको परिवारले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्