आगामी मंसिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने



दोलखा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शनिबार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन्। जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आएका मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुगेका थिए।

मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाको बारेमा निर्माणस्थलमै पुगेर जानकारी लिए। उनले करिब तीन घन्टा आयोजना निर्माणस्थलमा रहेर निकै चासोपूर्वक निर्माण कार्यको अवलोकन गरेका थिए।

निरीक्षणका क्रममा मन्त्री पुनले आयोजनाको अनुगमन, निरीक्षण, समस्याको समाधान र सहजीकरणका लागि आफू प्राधिकरण तथा आयोजनाका उच्चपदस्थ अधिकारीसहित निर्माणस्थलमै आएको बताए। उनले आयोजना प्रमुख दिनेशजङ्ग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग आयोजनाका प्रगतिका बारेमा जानकारी लिएका थिए।

मन्त्री पुनले तोकिएको समयभित्रै राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै त्यसमा गम्भीर भएर काम गर्न निर्देशन दिए। आयोजनाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पुनले राष्ट्रिय गौरवको यस आयोजना तोकिएको समय तालिकाभित्रै सम्पन्न हुने बताए। उनले आगामी मंसिर भित्र आयोजना पूर्णरुपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

“यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चासो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि मैले पूरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पूरा हुनेमा विश्वस्त छु”, मन्त्री पुनले भने। नेपाली श्रम, सीप र पूँजी परिचालन गरी ठूला आयोजना सम्पन्न गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै उनले यसबाट नेपालीले ठूला आयोजना आफैँ बनाउन सक्छन् भन्ने पुष्टि भएको बताए। मन्त्री पुनले तामाकोशी जलविद्युत् आयोजना नेपालका लागि नमूनायोग्य र महत्वपूर्ण भएको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्