बागमती नदी सफाइको ३०६ हप्ता पूरा, के नदी सफा भएकै हो ?



काठमाडौं : न घाम, न पानी, न जाडो, न गर्मी, न चाडपर्व निरन्तर अघि बढि रहेको छ बागमती सफाई अभियान। २०७० साल जेष्ठदेखि स्वतःस्फूर्त रुपमा संचालन भएको बागमती सफाई आजसम्म आइपुग्दा ३०६ हप्ता बितिसकेको छ।

बागमती सफाई अभियान संचालन सुरु भएदेखि निरन्तर लागि परिरहेकी बागमती सफाई अभियान्ता माला खरेल सबैको साथ र सहयोगले यहाँसम्म आइपुगेको बताउँछिन। ‘पहिले र अहिलेमा आकाश पातालको फरक भइसकेको छ’, उनी भन्छिन्, ‘सुरुमा त डम्पीङ साइड नै थियो बागमती, छेउछाउबाट हिँड्न नि नसकिने अवस्था थियो। तर, अहिले बागमतीको मुहार फेरिएको छ।’ नदीको सरसफाइले बागमती किनारमा मर्निङवाक गर्नेको संख्यामा पनि वृद्धि भइरहेको छ।

त्यस्तै सरसफाइले जग्गाको भाउ बढनुका साथै किनारका विभिन्न स्थानमा पार्क निर्माण गरिएको छ। सुरुमा आर्यघाट सफा गर्ने भनेर सुरु भएको सफाई अभियान अहिले ३०६ हप्तामा चलिरहेको छ। अभियान्ता खरेल भन्छिन्, ‘सुरु सुरुमा जनचेतना जगाउँन धेरै समस्या भयो। घर घरमा माइकिगं गर्ने र जरिवाना तिराउने काम पनि भयो। तर, अहिले धेरैमा जहाँतहाँ फोहोर फाल्नु हुन्न भनेर चेतनाको विकास भइसकेको छ।’

नदी सरसफाइको काम चलिरहँदा जति सफाई हुन पर्ने हो त्यति नभएको भनेर चौतर्फी गुनासो पनि आइरहेको छ। सफाई भएन भन्नेलाई खरेल भन्छिन्, ‘जो बागमती सफाइमा आएका छैन, उनीहरूले मात्र गुनासो गर्ने हुन्। सफाइ गर्नेलाई मात्र थाहाँ छ नदी सरसफाइ गर्न कति गाह्रो छ भनेर।’ हुन पनि हो बाहिरबाट हेर्दा नदी सफाइ गर्न जति सजिलो छ, भित्र गएर काम गर्न कठिन हुन्छ।

‘भन्नु र गर्नुमा धेरै फरक हुन्छ। पहिला भन्दा बागमती धेरै सफा भएको छ। तर, कति ठाउँमा त बिहान सफा गर्याे बेलुका उस्तै हुन्छ’, स्थानीय विजया हुमागाई गुनासो गर्दै भन्छिन्, ‘जनचेतना नभएसम्म सोचे जस्तो परिणाम निस्कन सक्दैन। यतिका समयसम्म कामलाई निरन्तरता दिनु नै ठूलो हो।’यतिका वर्षसम्म निरन्तर सफाइमा लाग्दा पनि सोचे अनुरुपको परिणाम निस्कन नसकेको बताउँछिन्,।

स्थानीय मनिता बजगाई उनी भन्छिन्, ‘यसको अध्ययन गरी कसरी प्रभावकारी रुपमा काम गर्न सकिन्छ सम्बन्धित निकायले ध्यान दियोस्।’ हातले फोहेर टिपेर मात्र सरसफाइ सम्भव नहुँने भएकाले नयाँ तरिका अपनाए अघि बढन सके यसले सार्थकर्ता पाउने उनको तर्क छ।

अर्का बागमती ससफाई अभियान्ता किशोर सिहं सफाईमा आइपरेका बाधा अडचनलाई बास्तै नगरी अघि बढिरहेका छन्। कानुनको अभाव, फोहोर नउठाउने प्रवृति, फोहोर फाल्नेलाई कारवाही, ढलको व्यवस्था र सरसफाइका लागि पर्याप्त रकम विनियोजन जस्ता कार्य गर्न नसक्दा सोचेजती नतिजा आउँन नसकेको उनको बुझाई छ।‘जन स्तरबाट जति गर्नु पर्ने हो त्यति गरेका छौं। तर, सरकारी स्तरबाटै यसप्रति ध्यान गएन’, उनी भन्छन्, ‘हामीले मात्र कति दिन यसरी सफा गरीरहने हो ?’

यता काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुमार श्रेष्ठले अभियान्ताले निकालेको फोहोर डम्पिङ साइडमा लाने काम भइरहेको बताए। उनी भन्छन्, ‘अब केहि दिनमै समिति गठन गरी अनुगमनको तयारीमा छौं। विशेष गरी रातिको समयमा फोहोर फाल्ने काम बढि हुन्छ। अब समितिले रातिको समयमा अनुगमन गरी कारवाही गर्नेछ।’ 

प्रतिक्रिया दिनुहोस्