कांग्रेस बलियो नभए संघीयता खतरामा पर्छ : नेता कोइराला



चितवन : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस बलियो नभए संघीयता खतरामा पर्ने बताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगर समितिले शनिबार चितवनको रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले लामो संघर्षपछि प्राप्त संघीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताए।

उनले भने, “गणतन्त्र र संघीयता धरापमा परेको छ, त्यसको संरक्षणका लागि कांग्रेस लड्नुपर्छ।” मुलुकमा दण्डहिनता बढ्दै गएको बताउँदै उनले अहिलेको समयमा लगानीको वातावरण बन्न नसकेको आरोप लगाए। राजनीतिक स्थिरता भए पनि वित्तीय संस्था धराशाही बन्दै जानु, व्यापार घाटा बढ्दै जानु दुःखद् रहेको उनको भनाई छ।

फरक प्रसङ्गमा नेता कोइरालाले पार्टीलाई गिरोहले सञ्चालन गरेको बताए। उनले भने, “राजनीतिक संस्कारसँगै नैतिकता सिकाउँदै पार्टीलाई बलियो बनाउनु आवश्यक छ।” कांग्रेसलाई बलियो बनाउन महासमिति बैठकको निर्णय कार्यान्वयन गर्दै समयमा महाधिवेशन गर्नु आवश्यक रहेको उनको भनाई थियो। 

प्रतिक्रिया दिनुहोस्