राष्ट्रपति विद्यादेवी भण्डारी फेरि विवादमा तानिनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैँको टीका लगाइदिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा भाइरल फाेटाेमा शासन फेरिए पनि शासक नफेरिएको भन्दै प्रतिक्रिया व्यक्त गर्न थालेका छन् ।
आलोचना गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापा पनि छन् । उनले जनताले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई असर पर्ने गरेर राष्ट्रपतिबाट व्यवहार भएको भन्दै आलोचना गरेका छन् । उनले राष्ट्रपतिका सल्लाहकार र सहयोगीहरूप्रति आफ्नो आक्रोश अलिक धेरै पोखेका छन् ।
यो तस्बर असलीयत हो वा होइन सो विषयमा राष्ट्रिपति कार्यालय शीतल निवासले केही प्रतिक्रिया दिएको छैन । तर, आलोचकहरूले राष्ट्रपति भण्डारीलाई नकारात्मक रुपमा सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् ।
दशैँको टीका प्रदान गर्ने बेलाको यो तस्बिरलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका बेला राष्ट्रपति कार्यालय मौन छ । कतिपयले सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीलाई नयाँ राजाको संज्ञा दिएका छन् । उनीहरूले राजाको शासनका बेला पनि जनतालाई घुँडा टेकाएर कहिल्यै पनि दशैँको टीका नलगाएको लेखेका छन् ।
तत्कालीन नेकपा(एमाले)की उपाध्यक्ष समेत रहेकी राष्ट्रपति भण्डारीको यो दोस्रो कार्यकाल हो । भण्डारीलाई आलोचकहरूले कम्युनिस्ट पार्टीबाट राष्ट्रपतिमा निर्वाचित भएर पनि जनतामाथि यस्तो व्यवहार देखाएको भन्दै आक्रोश पोखेका छन् ।
फाेटोमा राष्ट्रपति भण्डारी पहिलेका राजा महाराजा जस्तो रवाफी शैलीमा सोफामा हुनुहुन्छ । पराजुली राजा महाराजाको हातबाट टीका थाप्न पुग्ने सर्वसाधारण नागरिकझैं दुवै घुँडा टेकेर बस्नुभएको छ । मन्द मुस्कानसहित राष्ट्रपतिले टीका लगाइदिनुभएको छ, उस्तै मुस्कानमा पराजुलीले टीका र आशीर्वाद थापिरहनुभएको छ ।
घुँडा टेकेर टीका र अाशिर्वाद ग्रहण,तस्बिरले श्री ५ को सरकारको सम्झना गरायो अरु केही भन्न सकिएन । केही थान मान्छेहरू राष्ट्रपतिको बचाउ गरिराखेका छन् हजार तर्क गरेपनि यो शैलिलाई ठिक मान्न सकिदैन ।
प्रधानमन्त्री, मुख्यमन्त्रीको निवासमा लाइन लगाएर टीका थाप्न जानु चाकरीबाजको भद्दा नमुना सिवाय अरु केही हुन सक्दैन । पराजुलीले मात्र होइन, उपराष्ट्रपति र प्रधानमन्त्री बाहेक राष्ट्रपतिकोमा टीका थाप्न जाने सबैले यसैगरी घुँडा टेक्नुपर्यो ।
राष्ट्रपति पनि अाम सर्वसाधारण जस्तै हाे गणतान्त्रिक मुलुकमा तर राष्ट्रपति भने दरबारी रवाफमा देखिनु भयो । यो उहाँको आफ्नो चाहना हो वा राष्ट्रपति कार्यालयको व्यवस्थापन गर्नेहरुको चाहना हो भन्ने कुरा त विस्तारै थाहा हुँदै जाला, तर टीका थाप्ने र लगाउनेहरुको दृश्य हेर्दा राष्ट्रपतिको अघिल्तिर सबैले घुँडा टेकून् भन्ने कसै न कसैको चाहना छ भन्ने चाहिँ स्पष्टै बुझियो । किनभने प्रधानमन्त्री जस्ताे भुँइमा नभइ राष्ट्रपतिले त टीका लगाइदिन राष्ट्रपति भण्डारी सोफामा महाराजाकाे जस्ताे अासनमा बस्नुभएको थियो ।
उहाँको दाहिनेतिर अक्षता र जमरा भएको थाली थियो । राष्ट्रपतिको अघिल्तिर पनि बस्ने कुर्सी वा होचो मेच सम्म भएको भए टीका थाप्नेहरुले घुँडा टेक्नुपर्ने अवस्था त्यहाँ देखिदैन । उपराष्ट्रपति र प्रधानमन्त्रीले टीका थाप्ने बेला चाहिँ यसैगरी कुर्सी राखिएको थियो । त्यसैले टीका लगाउनेबेला उनीहरुले घुँडा टेक्नुपरेन ।
तर उपराष्ट्रपति र प्रधानमन्त्री बाहेकका नागरिकले टीका लगाउने बेला कुर्सी त थिएन नै । एउटा मुढा, पिर्का वा मेच पनि राखिएन । बस्ने कुर्सी नभएपछि सोफामा बस्नुभएकी राष्ट्रपतिको हातबाट टीका लगाउँदा कि उभिएरै निहुरिनु पर्दथ्यो, कि घुँडा नै टेक्नुपर्दथ्यो । निहुरिनुभन्दा घुँडा टेक्न सजिलो भयो । अरुले जस्तै पराजुलीले पनि यसै गर्नुभयो ।
अघिल्ला राष्ट्रपति रामवरण यादवले उठेरै सबैलार्इ टीका लगार्इ दिनुभएकाे थियाे । र उहाँ यसरी विवादित हुनुभएन । घुँडा टेकेको र निहुरिएको मान्छेलाई टीका लगाईदिंदा आफ्नो पनि शीर निहुरिन्छ, राष्ट्रपतिको पनि निहुरिएको छ । राष्ट्रपति भण्डारी सर्वसाधारण नागरिककै छोरी हुनुहुन्छ । नागरिकले नै भोट दिएर पठाएका जनप्रतिनिधिले उहाँलाई राष्ट्रपतिमा चयन गरेका हुन् ।
राष्ट्रपति, उहाँका सल्लाहकार तथा सहयोगीहरुलाई यो दृश्य सामान्य लाग्यो होला । तर देख्ने, सुन्ने र भोग्नेहरुका लागि यो पहिलेका राजा महाराजाहरुकै पालाको रवाफी शैली हो । यसअघि पनि राष्ट्रपति भण्डारी शितल निवासबाट न्यूरोडसम्म सडक पूरै बन्द गरियो । बुढानिलकण्ठबाट आएका प्रत्येक सवारीसाधन बालुवाटार हुँदै न्यूरोड पठाइयाे। जनताले दुख पाए । भन्दै अालाेचना भएकाे थियाे ।
आखिर नेपालमा राजतन्त्र हटेपनि अझैं त्यही प्रवृति किन हट्न सकेन? हाम्रा नेताहरुकाे जीवनशैली किन जनताकाे भन्दा फरक छ? कि सत्तामा पुगेपछि सबैकाे प्रवृति र नियत फेरिन्छ? हामी जनता जसरी हिँडछौं नेता त्यसरी हिँड्न सक्दैनन्? पक्कै पनि गल्ती गरेपछि मनमा डर हुन्छ। र, यिनीहरुले जनताप्रतिकाे दायित्व भुलेर गल्ती गरेका छन्। र, डराउँछन्। नेपालमा गणतन्त्र आयाे।
गणतन्त्र स्थापना भएकाे १२ वर्ष पुग्दा पनि त्यस्तै कुप्रथा व्याप्त छ । हाम्रा नेताहरुमा याे कुप्रथा अझ–अझ बढ्दै गइरहेकाे देखिन्छ। 'महाराज' मानसिकता सडकमा छताछुल्ल देखिन्छ। जनताबाट निर्वाचित नेताहरुमा यस्ताे अाडम्बर देखिनु खेदजनक छ। के भाेट माग्नका लागि सडकमा जान सक्ने नेताहरु कुर्सीमा पुगिसकेपछि चाहिँ तिनै जनतालार्इ सास्ती दिन्छन्। जनतामाथि अविश्वासकाे उदाहरण याेभन्दा अरु हुनै सक्दैन।