ढुंगालका आफन्तद्धारा आन्दोलनको घोषणा



कैलाली : धनगढी उप–महानगरपालिका ३ मा रहेका सुधार गृहमा मृत फेला परेका जनक ढुंगालका आफन्तले सबै क्षेत्रबाट घट्नालाई लुकाउने प्रयास भएको भन्दै आन्दोलनको घोषणा गरेका छन्। वडा नम्बर ३ का स्थानीयले बोराडाडीमा रहेको लागूपदार्थ पुनर्स्थापना केन्द्रमा स्टोर किपरको काम गर्दै आएका ढुंगालको मृत्यु शंकास्पद भएको भन्दै छानविनका लागि दबाव दिन आइतबार सडकमा चक्काजाम गर्ने घोषणा गरेका छन्।

प्रहरीले घटनामा दोहोरो चरित्र देखाइरहेकाले सत्यतथ्य छानविनको मागसहित स्थानीयले शनिबार बेलुका जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन समेत गरेका छन्। प्रर्दशन लगत्तै सडकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानीय राजबहादुर ऐरले आइतबार धनगढी–अत्तरीया ६ लेन सडक बन्द गर्ने बताए। स्थानीयले पोष्टमार्टम रिपोर्ट पनि सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

आइतबारदेखि एसइई परिक्षा सञ्चालन हुने भएकाले विद्यार्थीलाई भने आवतजावत गर्न दिने ऐरले बताए। बिहीवार राती खाना खाएर सुतेका ढुंगाल राती १० बजे मृत अवस्थामा फेला परेका थिए। सुधार गृहमा रहेका लागूऔषध  दुर्व्यसनीहरुले उनको हत्या गरेको हुन सक्ने आफन्त र स्थानीयले आशंका गरेका छन्। मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्