मकवानपुर गोल्डकप : च्यासललाई हराउँदै पुलिस क्वाटरफाईनलमा



मकवानपुर : नेपाल पुलिस क्लब हेटौंडामा जारी दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ। वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा शनिबार सम्पन्न खेलमा च्यासल युथ क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै पुलिस अघिल्लो चरणमा प्रवेश गरेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा दुवै टोलीले ४–४ गोल गरेका थिए। टाइब्रेकरमा पुलिसका लागि भरत शाह, तीर्थ रानामगर, हरि कठायत र सन्तोष हेमरनले गोल गरे। त्यस्तै च्यासलको तर्फबाट कप्तान अमिर श्रेष्ठ, विश्व अधिकारी, चेतन थारु र बिक्रम लिम्बुले गोल गरे।  

टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा धकेलियो। सडनडेथमा पुलिसका बुद्ध लामा र निरकुमार राईले गोल गर्दा च्यासलका नरेन्द्र चौधरीले मात्र गोल गरे। सञ्जोग राईको प्रहार भने पुलिसका गोलरक्षक रोशन खड्काले रोकेका थिए। खेलमा पुलिसका कप्तान दिनेश गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद दश हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा आइतबार सशस्त्र प्रहरी बलको (एफिएफ) र क्यामरुनको दाउफिन्स एफसीबीच प्रतिस्पर्धा हुनेछ।

चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा घरेलु टोली मकवानपुर ११, विदेशी क्लब दाफिन्स एफसीसहित ‘ए’ डिभिजनका आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैंया, मेडल र प्रमाणपत्र पाउने छन्।

प्रतिक्रिया दिनुहोस्