संवादहीनता अन्त्य गर्न नेपाल भारतबीच वार्ताको तयारी



काठमाडौं । कालापानी क्षेत्रमा उत्पन्न सीमा विवादका कारण केही समयदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल र भारतबीच कूटनीतिक वार्ताको तयारी भएको छ । वार्ता आउँदो साता हुनसक्ने भारतको इण्डियन एक्सप्रेसले जनाएको छ ।

नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयका सचिवस्तरीय वार्ताका लागि कुराकानी भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए । दुवै देशबीच ओभरसाइट प्रोजेक्टहरुका बारेमा हुनुपर्ने सचिवस्तरीय वार्ताका लागि कुराकानी भइरहेको बताउँदै उनले कसरी गर्ने र के आधारमा वार्ता गर्ने अझै तय भइ नसकेको बताए । वार्ताको समय र मितिसमेत निर्धारण भइ नसकेको उनले जानकारी दिए ।

इण्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार अर्को हप्ता वार्ता गर्न दुवै पक्षबाट आवश्यक तयारी भइरहेको छ । भारतको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजनाहरुका बारेमा दुवै देशबीच हुने बैठकमा छलफल हुने छ ।

नेपालले कालापानी क्षेत्रको लिपुलेक र लिम्पियाधुरा सहितको नक्शा जारी गरेपछि नेपाल भारतबीच संवादहिनताको अवस्था छ । नेपालको नक्शाप्रति असहमति जनाउँदै भारतले नेपालले पटक पटक पठाएको पत्रको जवाफसमेत दिएको छैन । यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालकै चितवनस्थित अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि भारतसागको दुरी थप बढाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरप्रदेशस्थित अयोध्यामा राम मन्दिरको शिलान्यास गर्ने कार्यक्रम तय हुनुभन्दा केही दिनअघि प्रधानमन्त्री ओलीले त्यस्तो अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्