भारतमा चिनिया नागरिक पक्राउ, नक्कली राहदानी बरामद



नयाँ दिल्ली : करिब एक हजार करोडको अवैध कारोबार गरिरहेका एक चिनिया नागरिकलाई भारत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती चिनिया नागरिकको साथबाट भारतीय राहदानीसमेत बरामद भएको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ती चिनिया नागरिकले मणिपुरको ठेगाना दिएर राहदानी बनाएका थिए । पक्राउ गरिएका चिनिया नागरिकको नाम लुओ सैंग हो । उनले चार्लि पेंगको नामबाट नक्कली राहदानी बनाएका थिए । भारतीय आयकर विभागले उनलाई नियन्त्रणमा लिएको छ ।

उनीसँगै पक्राउ गरिएका अन्य चिनिया नागरिक भने भिसामा आएका थिए । पर्यटक भिसामा आएका उनीहरु चार्लिसँगै कारोबारमा सहभागी भएका थिए । भारतीय प्रहरीले दिल्ली, गाजियावाद र गुरुग्रामस्थित विभिन्न स्थानमा छापामारी गरेर चिनिया नागरिकले गरिरहेका अवैध कारोबारको पर्दाफास गरेका छन् ।

केही भारतीय नागरिककै मिलेमतोमा ती चिनिया नागरिकले हजार करोडभन्दा बढीको कारोबार चलाइरहेका पाइएको भारतीय सञ्चारमाध्यम जीन्यूजले उल्लेख गरेको छ । चिनिया नागरिकको त्यो कारोबारमा को को सहभागी छन् प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्