विश्वभर कोरोना संक्रमित २ करोड बढी, ७ लाख ४६ हजारको मृत्यु



पेरिस : महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसिया समेतका मुलुकहरु रहेका छन् ।

संयुक्त राज्य अमेरिकामा ५३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ब्राजिलमा ३१ लाख, भारतमा २३ लाख, रसियामा नौ लाख, दक्षिण अफ्रिकामा पाँच लाख ६६ हजार, मेक्सिकोमा चार लाख ९२ हजार, पेरुमा चार लाख ८९ हजार तथा कोलम्बियामा चार लाख १० हजार संक्रमित छन् ।

कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका नागरिक पनि संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी छन् । पछिल्लो विवरण अनुसार अमेरिकामा हालसम्म एक लाख ६७ हजार, ब्राजिलमा एक लाख तीन हजार, भारतमा ४६ हजार, रसियामा १५ हजार, मेक्सिकोमा ५४ हजार, दक्षिण अफ्रिकामा १० हजार, पेरुमा २१ हजारको मृत्यु भइसकेको छ ।

युरोपेली मुलुकहरुमा पछिल्ला दिनमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । यद्यपि युरोप महादेशमा कुल संक्रमितमध्ये दुई लाख सात हजारको मृत्यु भइसकेको छ ।

भाइरस फैलिने क्रम तीव्र रहेको दक्षिण अमेरिकी महादेशमा हालसम्म एक लाख ६३ हजार, एसियामा एक लाख १३ हजार, उत्तर अमेरिकामा दुई लाख ३८ हजार, अफ्रिकामा २४ हजारको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्