सिन्धुली सदरमुकाम एक साताका लागि ‘लकडाउन’



सिन्धुली : समुदाय स्तरमा कोरोना संक्रमण फैलिनसक्ने आंशकामा सिन्धुली जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका लागि लकडाउन गरिएको छ । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि एक साताको लागि लकडाउन गरेको हो ।

सिन्धुली सदरमुकाममा शनिबार र आइतबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले मंगलबार राति १२ बजेदेखि लकडाउन गरिएको कमलामाई नगरपालिका नगरप्रमुख खड्ग बहादुर खत्रीले बताए । नगर क्षेत्रका मुख्य राजमार्ग बाहेकका सबै सिमानाका सडकहरु पूर्णरुपमा बन्द गरिएको छ ।

‘विपी राजमार्गमा सञ्चालन हुने अत्यावश्यकीय सवारी साधनमा पनि नगरपालिका क्षेत्रभित्र रोक्न, यात्रु चढाउन र ओराल्नका साथै होटल समेत प्रयोग गर्न रोकलगाइएको छ,’ उनले भने ।

पछिल्लो समय समुदायस्तरमै संक्रमणको जोखिम बढ्नुका साथै अन्य क्षेत्रबाट आउजाउ गर्नेहरुका कारण कोरोना संक्रमण बढ्ने जोखिम बढेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले स्पष्ट पारे ।

नगर क्षेत्र लकडाउन गरिएपछि जिल्ला सदरमुकाम बुधबार बिहानैदेखि सुनसान छ । बजारका मुख्य चोक र सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्