सोमबार मृत्यु, बुधबार कोरोना संक्रमण पुष्टि



जनकपुर : जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा गत सोमबार मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मटिहानी नगरपालिका वडानम्बर–६ निवासी ५२ वर्षीय पुरुषको मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

फोक्सो र मधुमेहका बिरामी ती पुरुषलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । आइतबार नै अस्पतालमा भर्ना भए पनि सोमबार उनको स्वाब संकलन गरिएको थियो । सोही दिन राति ९ बजेतिर उपचारकै क्रममा उनको मृत्यु भएको मटिहानी नगरपालिकाका मेयर हरी मण्डलले जानकारी दिए ।

अस्पतालमा मृत्यु भएका ती पुरुषको शवलाई गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि मंगलबार राति रिपोर्ट पोजेटिभ आएको मेयर मण्डलले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार मृत्युपछि अन्तिम संस्कारसमेत गरिसकिएको अवस्थामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम सुरु गरिएको मेयर मण्डलले जानकारी दिए । उनका अनुसार पहिलो कन्ट्याक्टमा उनको सम्पर्कमा देखिएका १५ जनाको स्वाब संकलन गरिएको छ । अन्य कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको उनले बताए ।

मृतक पुरुषको ५६ जना मलामी गएका थिए । मलामी गएका ५६ जनालाई होम क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रकाशित : साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्