कमिसन नदिएको भन्दै सांसद चौधरीले ठेकेदारमाथि गराईन् हमला



जनकपुरधामः नेपाली काँग्रेसको समानुपातिक तर्फकी प्रदेशसभा सदस्य सरस्वती चौधरीले आफुलाई कमिसन नदिएको भन्दै एक ठेकेदारलाई निर्घात कुटपिट गर्न लगाएकी छिन् ।

काम गरेवापतको रकम चौधरीसंग माग्न गएका धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ३ बस्ने २३ वर्षिय ठेकेदार नविन कुमार यादवलाई कुटपिट गरिएको हो । संसदीय विकास कोषको रकमबाट गरेको विकास निर्माण योजनाको कार्य सम्पन्न गरी सो वापतको रकम माग्दा सांसद चौधरीले भुक्तानी नै नदिई घरमै लगेर गुण्डा लगाई आफुलाई कुटपिट गरेको ठेकेदार नविनले आरोप लगाए । यादवले आफुलाई सांसद चौधरीका गुण्डाहरु अजित मण्डल, जितेन्द्र यादव र पप्पु दास लगायतका समुहले जनकपुरधामस्थित घरमै लगेर कुटपिट गरेको बताए ।

शहिदनगर नगरपालिका र जनकपुरमा नाला निर्माण तथा पिसिसि ढलान गर्न लगाएर सांसद चौधरीले रकम नदिएको पीडित ठेकेदार यादवले गुनासो गरे । उनले भने,‘नाला तथा ढल निर्माणको कार्य सम्पन्न भएको करिब एक महिना वितिसक्दा पनि रकम दिएन र पटक पटक ताकेदा गर्दा हिजो मंगलबार घरमै बोलाएर सांसद चौधरीका छोरा र भतिजाले कुटपिट गरेका हुन् ।’

प्रदेशसभा सदस्य चौधरीले आफ्नै संसदीय विकास कोषको रकम अनियमितता गर्नका लागि उपभोक्ता समितिको अध्यक्षमा आफ्नो भतिजा र कोषाध्यक्षमा छोरीलाई राखेकी थिईन् । असार मसान्तमा भएको विकास निर्माणको कार्यका लागि उपभोक्ता समितिबाट गर्नुपर्ने कार्य ठेकेदार मार्फत गराएर पछि ठेकेदारलाई रकम नदिई उल्टै उसलाई कुटपिट गरेपछि सो कुरा सार्वजनिक भएको हो ।

ठेकेदार यादवले भने,‘सांसद चौधरीले बजेटको १० देखि ३० प्रतिशतसम्म कमिशन मागेकी थिइन् । जनकपुरधाम वडा नम्बर–१४ स्थित कबर्डहल तर्फको २ सय मिटरको नाला निर्माण सहित पीसिसि ढलानका लागि करिब २७ लाख रुपैयाँ बजेट छुट्याइएको थियो भने धनुषाकै शहिदनगर नगरपालिका वडा नम्बर–९ मा समेत पीसिसि ढलानका लागि ५६ लाख ६४ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये प्रदेश सांसद चौधरीले मुजेलियामा भएको विकास निर्माणको कार्यमा १० प्रतिशत कमिसन र शहिदनगर नगरपालिकामा भएको कार्यबाट ३० प्रतिशत कमिसन मागेकी थिईन् ।’ आफुले काम गर्दै जादाँ उपभोक्ता समितिको नामबाट दुवै ठाउँमा गरि पहिलो चरणमा ९ लाख रुपैयाँ मात्र दिएको उनले बताए । आफुले उधारोमा ल्याएका सामानहरुको रकम समेत भुक्तानी गर्नका लागि पटक पटक आग्रह गर्दा उल्टै गुण्डा लगाएर कुटपिट गरेको घाइते यादवको आरोप छ ।

ठेकेदार यादवले सांसद चौधरीको संसदीय विकास योजना अन्तर्गत जनकपुरधाम– १४ ब्याहुत सुडी सेवा समितिदेखि विजय यादवको घरसम्म २ सय मिटर नाला सहितको सडकमा पिसिसि ढलान र शहिदनगर नगरपालिका-९ स्थित कियोटानी टोलको डिहबार स्थानदेखि अजय श्रीवास्तवको घरसम्म ३ सय ४५ मिटर पीसिसि ढलान गरेको बताए ।

जनकपुरमा सांसद चौधरीले आफ्नै भाई सुनिल ठाकुरलाई उपभोक्ता समितिको अध्यक्ष र छोरी सपना चौधरीलाई कोषाध्यक्ष बनाएकी थिइन् । त्यस्तै शहिदनगरमा भएको विकास निर्माण कार्यका लागि गठन गरेको उपभोक्ता समितिमा दुर्गानन्द रजकलाई अध्यक्ष बनाइएका थिए ।
उपभोक्ता समिति बनाएपनि सांसद चौधरीले काम गर्न ठेकेदार यादवसंग सम्झौता गरेकी थिइन् । कमिशनमा कुरा नमिलेपछि सांसद चौधरीले आफन्तलाई उपभोक्ता समितिको पदाधिकारी बनाएको रहस्य सार्वजनिक भएको छ ।

यस सम्बन्धमा प्रदेशसभा सदस्य चौधरीले आफुमाथि लगाइएको आरोप कपोकल्पित रहेको बताइन् । उनले भनिन्,‘मैले कुनै कमिसन मागेको छुईन् । कसैलाई कुटपिट समेत गरेको छुईन् । बरु काम गर्नेहरु मजदुरहरुबिच भएको विवाद र झगडाले उग्ररुप लिंदा उनीहरुबिच आपसमै कुटाकुट भएको हो ।’ सांसद भएका कारण आफ्नो नाम बदनाम गराउने खेल रचिएको उनको भनाई छ ।

यता, कुटपिटबाट घाइते भएका यादव जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराउने प्रक्रियामा लागेका छन् ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्