आज राति यो वर्षकै धेरै उल्का वर्षा हुने



काठमाडौंः यो वर्षको सबैभन्दा धेरै उल्ला वर्ष बुधबार रातिदेखि बिहीबार बिहानसम्म हुँदैछ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आज (बुधबार) राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म उल्का वर्षा देखिने बताएको हो ।

यो उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ’पर्सिड मिटियर सावर’ नाम दिइएको छ । ’स्विफ्ट टटल’ नामक पुच्छ्रे ताराले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भएर जल्ने क्रममा यो उल्कावर्षा देखिएको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

‘स्विफ्ट टटल’ पृथ्वीबाट धेरै टाढा रहेपनि यसले १ सय ३३ वर्षमा सूर्यको परिक्रमा गर्छ । सूर्यको परिक्रमा गर्ने क्रममा यो पुच्छ्रे ताराले आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छाड्ने गर्छ । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले छाडेको कण र चट्टानहरु नजिकै आउँछ । यसरी ती कण तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । ठोक्किएर जलेका ती वस्तुहरुलाई उल्का वर्षा भनिदै आएको छ ।

उल्का वर्षालाई नेपालमा ‘तारा खसेको’ पनि भन्ने गरिन्छ । नासोले भने अत्याधिक मात्रा उल्का वर्षा खसेको हेर्न चाहनेरुका लागि बिहीबार बिहीबार बिहान ३र४ बजेको समय उपयुक्त हुने बताएको छ । उक्त समयमा प्रति घण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० किमिसम्म हुने भएकोले करिब ७० किमि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने नासोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो वर्ष जुलाई १७ देखि अगष्ट २६ सम्म उल्का वर्षा सक्रिय हुने अनुमान गरिएको छ । उल्का वर्षालाई रातको समयमा उत्तरपूर्वी आकाशमा अवलोकनकर्ताहरुले हेर्न सक्नेछन् । आफू रहेको स्थानको आकाश खुला र सफा रहे मात्र अवलोकन कार्य सम्भव हुने अध्यक्ष भट्टराईले बताए ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्