पढाइ छाडेर इँटा बनाउन विवश छन् बालबालिका



भक्तपुर : सिन्धुली मरिणका १५ वर्षीय मनोज वाइबा दैनिक एक हजारदेखि १५ सय इँटा बनाउँछन् । कक्षा ५ मा अध्ययनरत वाइबाले विद्यालयको पढाइ छोडेर छिमेकी दाइहरूसँग इँटा पार्न (बनाउन) आएको बताउँछन् । उनी तीन महिनादेखि सूर्यविनायक नगरपालिका १० नङखेलस्थित कादम्बिनी इँटाभट्टा मजदुरी गर्छन्।

कान्तिपुर दैनिकले पृष्ठ ५ पाँचमा याे समाचार छापेकाे छ। लेखिएकाे छ- 

रोल्पाका १३ वर्षीय समीर डाँगी सोही इँटा उद्योगमा श्रम गर्छन् । कक्षा ४ मा अध्ययरत डाँगी पढाइ छोडेर तीन महिनाअघि उद्योगमा मजदुरी गर्न आएका हुन् । इँटाभट्टामा कौडी दिने काम गर्ने डाँगीले मासिक १० हजार पारिश्रमिक पाउने सञ्चालकको भनाइ छ ।त्यस्तै, दाङका १२ वर्षीय मनोज विक मैत्री हनुमान इँटा उद्योगमा इँटा बोक्छन् ।

दैनिक १५ सयदेखि दुई हजार इँटा बोक्ने विक कक्षा ३ को पढाइ छोडेर इँटाभट्टा आइपुगेका हुन् । ‘इँटाभट्टाको मौसममा पढाइ छुट्यो, घर गएर पुनः विद्यालय जान्छु,’ उनले भने, ‘परिवार नै इँटा उद्योगमा आएका छौं, भाइबहिनीको समेत पढाइ छुट्यो ।’ मनोज अभिभावकसँगै इँटा बोक्छन् भने उनका भाइ दिवेश बहिनीस्याहार्ने काममा व्यस्त छन् । 

जिल्लाका चारवटै स्थानीय तहले बालश्रम मुक्त घोषणा गर्ने योजना बनाएको छ । तर, इँटाभट्टालगायत उद्योगमा बालबालिकाको अवस्था अध्ययन, अनुगमन नै नगरी हचुवाको भरमा अभियान थालेका छन् । संघीयता लागु भएसँगै नगरभित्र सञ्चालित उद्योगको नियमनकारी निकाय स्थानीय तह भएको छ । तर, नियमन, अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तहको बेवास्ताका कारण बालबालिका असुरक्षित हुनुका साथै बालश्रमिकको रूपमा कार्यरत छन् ।

करिब २० महिनादेखि स्थानीय तहको नेतृत्व सम्हालेको जनप्रतिनिधि अझै कहाँ/कसरी काम, कारबाही अघि बढाउने भन्ने विषयमा अन्योलग्रस्त छन् । इँटा उद्योगमा बालबालिकाको अवस्था दयनीय छ । शौचालयको व्यवस्था छैन । भएकाशौचालयसमेत व्यवस्थित छैनन् । बालश्रमिक बढ्दो क्रममा छन् । इँटाभट्टा बालबालिकाको लागि असुरक्षित छ ।

उद्योगमा कार्यरत मजदुरका बालबालिका अध्ययनबाट समेत वञ्चित छन् । इँटा उद्योगमा हुनुपर्ने आधारभूत मापदण्डअनुसार पाँच वर्षभन्दा मुनिका बालबालिकालाई दिवा शिशु स्याहार कक्षाको स्थापना गर्नुपर्ने, मजदुरका बालबालिकामध्ये विद्यालय जाने उमेर भएकालाई अनिवार्य रूपमा विद्यालय पठाउन अभिभावक, गैरसरकारी संस्था तथा शिक्षा कार्यालयसँग समन्वय हुनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्