सुदूरपश्चिम प्रदेश सभाद्धारा मिडिया बिधेयक पारित



धनगढीः प्रेस स्वतन्त्रतामा अंकुश लगाउने केही प्रावधान सहित प्रदेश सभाले एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार पारित गरेको छ ।

प्रदेश सभामा प्रदेश सभाका सदस्यहरुले छलफलका क्रममा विधेयकका विभिन्न प्रावधानहरू माथि दिएका सुझावहरुमाथि छलफलसमेत नगरी प्रदेश सभाबाट विधेयक पारित भएको हो ।

विधेयक माथि प्रतिपक्षी दल नेपाली कांग्रेसका डिल्लीराज पन्त र सत्तापक्ष नेकपामा दुर्गा कुमारी कामीले विधेयकमा भएको व्यवस्थाअनुसार आफै अभियोग लाउने, आफै अनुसनधान गर्ने र आफै सजाय तोक्ने निकायका रुपमा आन्तरिक मामिला तथा कानून मन्त्रालय रहन नहुने, प्रशारण पूर्व कुनै पनि विषयको विवरण मन्त्रालयमा पेश गर्ने बिषय संविधान विपरित हुने बताएका थिए ।

नेपाल पत्रकार महासघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले विधायक समितिले प्रदेश समितिसँग कुनै छलफल नगरेको तथा प्रेस स्वतन्त्रता विपरीत हुने प्रावधानहरुमा प्रदेश समितको असहमति रहेको बताए ।

प्रेस स्वतन्त्रता माथी अकुंश लगाउने प्रावधान सहितको विधेयक पास गरिनु दुखद कुरो भएको नेपाल पत्रकार महासघका पुर्व केन्द्रिय सदस्य दिल बहादुर छल्यालले बताए । शुरुमा मस्यौदा माथिको छलफलको क्रममा पत्रकार महासंघ, पत्रकार र सरोकारवालाको सुझाव नसमिटिएको बताउदै उनले अहिले आएर सांसदले दिएका सुझाव समेत नसमेटी अकुंश लगाउने प्रावधानको बिधेयक पास भएको बताए ।

उनले प्रदेश सरकारले आफ्नो भक्तिगान गाएमा ठिक हुने र सत्य, तथ्य तथा सरकारका गलत काम लेख्ने मिडिया र पत्रकारलाई नियन्त्रण गर्ने नियत देखिएको बताए । आफै अभियोजन गर्ने, आफै अनुसन्धान गर्ने र आफै सजाय तोक्ने कुरो न्यायिक सिद्धान्त विपरित पनि छ ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्