वीरगन्जबाट साढे ३ अर्बको खाने तेल भारत निर्यात



वीरगन्जः वीरगन्ज नाकाबाट साढे ३ अर्ब रुपैयाँको खाने तेल भारत निकासी भएको छ । केही वर्षदेखि रोकिएको तेल निकासी विगत केही महीनायता पुनः शुरू भएको हो । चालू आर्थिक वर्ष (आव) २०७५/७६ को ८ महीनामा ३ अर्ब ४६ करोड ३ लाख रुपैयाँ बराबरको तेल भारत निकासी भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीषकुमार महतोले जानकारी दिए । उनका अनुसार बारा र पर्साका उद्योगीले ३० हजार २०३ मेट्रिकटन खाने तेल निकासी गरेका हुन् ।

गत आव २०७४÷७५ सम्म निकासीको सूचीमै नरहेको खाने तेल यस वर्ष मूल्यका आधारमा सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीको अग्रस्थानमा परेको छ । सबैभन्दा बढी पाम आयल निकासी भएको भन्सारको तथ्यांक छ । यो सबैभन्दा बढी निकासी हुने वस्तुमा परेको छ । ३ अर्ब ६३ करोड ६२ लाख रुपैयाँको २३ हजार ८२६ मेट्रिकटन तयारी पाम आयल निकासी भएको छ । आठ महीनामा ८२ करोड ४१ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको भन्सारले बताएको छ ।

बारा र पर्साका नौओटा उद्योगले वीरगन्जबाट तेल निकासी गरिरहेका छन् । कच्चा पदार्थको लागतमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गर्न पाउने सार्कको क्षेत्रीय व्यापारको नियमअनुसार खाने तेल निर्यात भइरहेको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानले बताए ।

भारतमा तेलको कच्चा पदार्थको आयातमा उच्च भन्सार महसूलका कारण नेपालबाट निकासी सम्भव भएको हो । त्यहाँ कच्चा आयलको आयातमा ४० प्रतिशत भन्सार महसूल छ । भारत सरकारले आफ्नो मुलुकका किसानलाई संरक्षणका लागि यो नीति अपनाएको हो । नेपालमा १० प्रतिशत भन्सार छ । निकासी गरेपछि उत्पादकले यो महसूल फिर्ता पाउँछन् ।

वीरगञ्जबाट भटमासको तेल निकासी गरिरहेको निम्बस समूहका अध्यक्ष जगदीश अग्रवाल नेपालमै पाम र भटमास ल्याएर पेल्ने प्रविधिलाई प्रोत्साहन गरिनुपर्ने बताउँछन् । ‘नेपालमै क्रुड आयल बनाउन सकियो भने बढी मूल्य अभिवृद्धि गर्न सकिन्छ । सरकारले त्यस्तो प्रविधिमा प्रोत्साहनको नीति लिनुपर्छ,’ उनले आर्थिक अभियानसित भने । निम्बसको प्रोबायोटेक इन्डष्ट्रिजले भटमासको तेल निकासी गर्छ ।

प्रतिक्रिया दिनुहोस्