विश्व क्षयरोग दिवस मनाइँदैः नेपालमा दैनिक १८ जनाको मृत्यु



काठमाडौंः क्षयरोगबारे जनचेतना बढाउन विभिन्न कार्यक्रम गरी आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नारासहित नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । नेपालमा दैनिक १८ जनाले क्षयरोगका कारण ज्यान गुमाउने गरेका छन् । संगठनका अनुसार नेपालमा निस्कृय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ ।

चिकित्सकका अनुसार निस्कृय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना न्यून रहन्छ । विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाका बारेमा पत्ता लाग्ने गर्दछ । सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए ।

कीटाणु पत्ता लगाएको एक सय वर्षपछिबाट सोही दिनलाई विश्व क्षयरोग दिवसको रुपमा बनाउन थालिएको हो । नेपालमा क्षयरोग निवारणका कार्यक्रम सुरु भएको ६० वर्षभन्दा बढी भएको छ । तर, सरकारले यस क्षेत्रमा खासै उपलब्धि हासिल गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्