दिल्लीको विश्वास नै सन्दीपको परीक्षा 



सन्दीप यतिवेला भारतमा छन्। केही दिनअघि मात्र उनी इन्डियन प्रिमियर लिग २०१९ खेल्न त्यहाँ पुगेका हुन्। गत वर्षकै टिममा रहेर उनी यस वर्ष पनि आईपीएल खेल्दैछन्। अस्ट्रेलियाका पूर्वक्याप्टेन रिकी पोन्टिङको प्रत्यक्ष निगरानी र प्रशिक्षणमा २०१९ मा सन्दीप समावेश टिम दिल्ली जम्दै छ।

दिल्ली डेयरडेभिल्स नाम रहेको यस क्लबले हालै नाम फेरेर ‘दिल्ली क्यापिटल’ बनाएको छ। स्टार खेलाडीले भरिएको दिल्ली अघिल्लो सिजनमा खासै जम्न सकेको थिएन। त्यसैले हुनसक्छ उसले नामको पुच्छर मेटेर क्यापिटल झुन्ड्यायो। २०१९ मा पहिलो गेम दिल्लीले मुम्बईविरुद्ध खेल्दै छ। आजै साँझ सवा ८ बजे मुम्बईको वाङखडे स्टेडियममा खेल हुँदै छ। गत वर्ष प्रतियोगितामा सुरु सुरुमा सुखद नतिजा निकालेको दिल्ली त्यसलाई यस वर्ष पनि दोहो-याउने पक्षमा छ। 

दिल्लीको विश्वास सन्दीप

दिल्लीले यस वर्षचाहिँ सन्दीपलाई भरपर्दो बलर मानेको छ। त्यसैले त उनी पहिलो गेमको सुरुवाती रोजाइमै पर्न सफल भए। दोस्रोपटक आईपीएल खेल्न थालेका सन्दीपको चर्चा यतिबेला भारतका विभिन्न सहरमा छाएको छ। सामाजिक सञ्जालमा सन्दीप छाइरहे छन्। उनको चर्चा नेपालमा मात्रै हैन पूरै विश्वमा छ यतिबेला।

अघिल्लो सिजनमा क्लबले नै खासै स्थान नदिइएका कारण सन्दीप ओझेलमै त परेनन् तर, खासै चर्चामा पनि आउन सकेनन्। तर, पछिल्ला दुई खेलबाटै उनले नेपाली खेलाडीको र आफ्नो स्तर भारतसामु देखाइदिए। त्यसैले होला आईपीएलले सन्दीपलाई यस वर्ष सुरुमै बोलायो। 

टिममा सन्दीपसँगै अमित मिश्रा, ट्रेन्ट बोल्ट, हर्षल पटेल, कागिसो रबडा, अभेस खाँनजस्ता बलर छन्। गत वर्षभन्दा यस वर्ष टिममा चर्चित अनुहार कम छन्। अस्ट्रेलियाको बिग ब्यास, क्यारेबियन लिग(सीपीएल) क्यानडा भएको ग्लोबल टी–ट्वेन्टी, अफगानिस्तानको प्रिमियर लिग, पाकिस्तानको सुगर लिग खेलिसकेका सन्दीपलाई आईपीएल पोहोरको जस्तो हुने छैन।

नयाँ र ठाउँ र परिवेश पटक्कै हुने छैन। चार जना विदेशी खेलाडी मात्र प्लेइङ सेटमा राखिने हुँदा उनलाई टिममा टिकिरहनुपर्ने अर्को चुनौती छ। चुनौती उनलाई अमिति मिश्र र अक्षर पटेल जस्ता खेलाडीले पक्कै दिनेछन्। 

 

प्रतिक्रिया दिनुहोस्