परीक्षा केन्द्र भुलेर अन्तै पुगे ताप्लेजुङका विद्यार्थी



ताप्लेजुङ : जिल्लाको सिरिजंगा गाउँपालिका ३ सिकेचौरका १६ जना विद्यार्थी परीक्षा केन्द्र भुलेर अर्कै परीक्षा केन्द्रमा पुगेका छन्। ती १६ जना विद्यार्थीलाई अहिले सदरमुकामबाट प्रश्नपत्र इमेल गरी परीक्षामा समावेश गराइएको छ। 

२०७३ सालको परीक्षामा पनि सामेल भएर स्तरवृद्धिका लागि आवेदन दिएका उनीहरु सिकैचौर नजिकैको तेल्लोक मावि परीक्षा केन्द्र पुगेका थिए। उनीहरुको परीक्षा केन्द्र भने फुङ्लिङस्थित बासु मावि मेदिबुङ रहेको थियो।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए अनुसार सिकैचौरका विद्यार्थीको २०७४ सालको स्तरवृद्धिकोे परीक्षा केन्द्र भने तेल्लोकमै थियो। ती विद्यार्थी २०७३ सालमा स्तरवृद्धिको परीक्षा दिएको आधारमा अनुमानका भरमा तेल्लोक पुगेका हुन सक्ने प्रजिअ भण्डारीले जानकारी दिए। 

बासु मावि परीक्षा केन्द्र रहे पनि तेल्लोक परीक्षा केन्द्र पुगेपछि शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला परीक्षा समन्वय समितिले उनीहरुका लागि बासु मावि मेदिबुङमा पुगेको प्रश्नपत्र स्क्यान गरी तेल्लोकमा पठाएको र त्यहाँ प्रिन्ट गरी परीक्षा गराइएको प्रजिअ भण्डारीले बताए। 

प्रतिक्रिया दिनुहोस्