प्रहरी महानिरीक्षकका अधिकार बाँडफाँट



काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले महानिरीक्षकमा केन्द्रित केही अधिकार बाँडफाँट गर्ने निर्णय गरेको छ ।

प्रहरीको नीति निर्माण समिति (पिसिसी)को बुधबार बसेको बैठकले प्रहरी महानिरीक्षकको सचिवालयमा केन्द्रित अधिकार अन्य विभागमा बाँडफाँड गर्ने निर्णय गरेको हो ।

सर्वेन्द्र खनालको कार्यकालमा उनले प्रहरीका कामहरू महानिरीक्षकको सचिवालयमा केन्द्रीकृत गरेका थिए । त्यसलाई हाल हेरफेर गरिएको हो ।

महानिरीक्षकको सचिवालयमा तहतका महाशाखाहरूलाई अन्य विभागअन्तर्गत राख्ने निर्णय बैठकले गरेको छ ।

बैठकले समुदाय प्रहरी साझेदारी कार्यक्रम हेर्ने जिम्मेवारी कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गतको सुरक्षा महाशाखालाई दिइएको छ । त्यस्तै सवारी महाशाखा पनि अपराध अनुसन्धान विभागअन्तर्गत राखिएको छ ।

सचिवालय मातहत रहेका प्रशासन महाशाखा, युएन महाशाखालाई मानव स्रोत तथा प्रशासन विभाग मातहत राखिएको छ ।

नेपाल प्रहरी संगीत विद्यालयलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअन्तर्गत तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सिलरसँग समन्वय गर्ने जिम्मेवारी कार्य विभागलाई दिइएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नियुक्त भएकै दिनमा आफू सामूहिक नेतृत्व प्रणालीमा चल्ने घोषणा गरेका थिए । सोहीअनुसार महानिरीक्षकमा केन्द्रित अधिकार उनले विकेन्द्रित गरिएको हो ।

प्रकाशित : साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्