निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छोड्न आदेश



कैलाली : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छोड्न आदेश दिएको छ । 

प्रमाण नष्ट गरेको अभियोगमा साढे ४ लाख र यातना दिएको अभियोगमा ६ लाख गरी साढे १० लाख धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । 

गत मङ्गलवार बयानका लागि आफैँ अदालतमा उपस्थित भएका विष्टको बयानपछि बहस सुरु भएको थियो। बयानपछि थुनछेक बहस शुक्रवार सम्म चलेको थियो। शुक्रवार बहस सकिए पनि समय अभावले अदालतले आदेश सुनाउन पाएको थिएन। 

पूर्व एसपी विष्ट सहित ८ जना विरुद्ध दिलीप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो। जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेशपछि ६ जना ३१ लाख धरौटीमा रिहा भइसकेका छन् भने सीआईबीका डिएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन्।

प्रतिक्रिया दिनुहोस्