सरकारको कामलाई चमत्कारीक भन्न मिल्दैन :  गच्छदार



काठमाडौ :  नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले हिउँदे अधिवेशनमार्फत १ सय २६ नयाँ कानुन निर्माण गर्नु सरकारको उपलब्धि नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका तर्फबाट बोल्दै उनले  यो अवस्थामा जसको सरकार भए पनि यही अनुरूप गर्ने बताए । विधेयक ल्याउनु सरकारको नियमित कामभएकाले यसलाई सरकारले उपलब्धि भन्न नमिल्ने तर्क गरे ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको आइतबारको बैठकलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबिचमा १२६ कानुन निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गर्दै आफू नेतृत्वको सरकार सफल भएको दाबी गरेका थिए  ।

त्यस लगतै प्रतिपक्षका तर्फबाट उपसभापति गच्छदारले सरकारको नियमित कामलाई चमत्कारिक उपलब्धि भन्न नमिल्ने बताए ।साथै उनले  सरकार सदनप्रति  जिम्मेवार बन्न नसकेको आरोप लगाए ।  

उनले ३३ किलो  सुन काण्ड र वाईड बडी प्रकरणमा प्रधानमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नभएको बताए । राष्ट्रिय मुद्दाहरूमा  काँग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सरकारले संसदलाई गरेको उपेक्षा काँग्रेसलाई स्वीकार नहुने चेतावनी दिए ।

साथै उनले सरकारले संसद्मा पेस गरेको राष्ट्रिय सुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुत तर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई फिर्ता लिनुपर्ने माग गरे  । 

 

प्रतिक्रिया दिनुहोस्