प्रमुख निर्वाचन आयुक्त डा.यादवले लिए अवकाश



काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा.अयोधि प्रसाद यादवले आइतबारबाट अवकाश लिएका छन् । २०६३ साल यता दुई कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका प्रमुख निर्वाचन आयुक्त यादवले आइतबारबाट अवकाश पाएका हुन् । 

यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ । बिदाइ समारोहमा अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिनाभित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिए । 

उनले लोकतन्त्रको सवलीकरणका लागि इमान्दारिताका साथ आफ्नो संवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैँ सफल हुने विश्वास पनि व्यक्त गरे । अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरे । 

यादवको अवकाशसँगै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्ने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्