प्रदेश दुईका सामाजिक विकास मन्त्रीले शिक्षकमाथि दुर्व्यवहार गरेको आरोप



जनकपुरधाम : प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवल किशोर शाहले एसईई परीक्षा केन्द्रको निरीक्षण गर्ने क्रममा केन्द्राध्यक्षमाथि गालीगलौज गरेका छन् ।

आइतबार बिहान धनुषा जिल्लाको सरस्वती नमुना उच्च माध्यमिक विद्यालयमा निरीक्षणको क्रममा मन्त्री शाहले केन्द्राध्यक्षसहित परीक्षा हलमा बसेका शिक्षकहरूलाई समेत अभद्र व्यवहार गरेका हुन् । पीडित शिक्षक र र केन्द्राध्यक्षले पत्रकार सम्मेलन गरेर उक्त आरोप लगाएका हुन् ।  

परीक्षा सकिएको केही घण्टा मै नेपाल शिक्षक संघले पत्रकार सम्मेलन ग़री दुर्व्यवहार गर्ने मन्त्रीको राजीनामा समेत माग गरेका छन् । 

पत्रकार सँग कुरा गर्दै संघका प्रदेश २ अध्यक्ष मेघनाघ यादवले मन्त्री जस्तो व्यक्तिले शिक्षकलाई अपशब्द प्रयोग गर्नु दुःखद भएको बताए । उनले मन्त्री साहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् । मन्त्री साहले गल्ती स्वीकार गर्दै माफी नमागे प्रदेश २ का सबै शिक्षक आन्दोलनमा जाने चेतावनी पत्रकार सम्मेलनमा दिइएको छ । 

बिहान ९ः१५ बजे विद्यालय पुगेका मन्त्री साहले निरीक्षकको परिचयपत्रमा फोटो नभएको भन्दै गालीगलौज गरेका थिए । आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै पनि मन्त्री साहले शिक्षकलाई दुर्व्यवहार गरेका थिए । 

झन्डै ३० मिनेट सरस्वती विद्यालयको परीक्षा केन्द्रमा बिताएका मन्त्री शाहले केन्द्राध्यक्ष सत्य नारायण मण्डललाई पनि अपशब्द प्रयोग गरेका थिए । 

मन्त्री साहले भने आफूमाथि लगाइएको सम्पूर्ण आरोप गलत भएको प्रतिक्रिया दिएका छन् । आफ्नो निवासमा संचाराकर्मीसँग बोल्दै उनले आफू परीक्षा केन्द्र निरीक्षणमा गएको तर कसैलाई दुर्व्यवहार नगरेको बताए । 

प्रतिक्रिया दिनुहोस्