नेताहरूको भागबण्डा नमिल्दा स्वयंसेवकको नतिजा रोकियो



कैलाली : कार्यक्रम अवधि सकिनै लाग्दा पनि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वयंसेवक पदको लागी पुसमा लिएको आवेदनको नतिजा प्रकाशन गरेको छैन ।

आवेदनको सुरुमै हामीले यो विषयमा मन्त्रालयमा बुझ्दा कर्मचारी छनौटमा मन्त्री, सांसद र विभिन्न राजनीतिक दलका नेताको दबाब आएको स्वयम सेवक परिचालनको जिम्मा पाएको युवा तथा खेलकुद महाशाखाका  उपसचिव किसानराज चिलुवालले बताएका थिए ।

प्रदेश सरकारको गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको प्रथम चौमासिकमा बजेट खर्चको अवस्था न्यून देखिएपछि विभिन्न कार्यक्रम सञ्चालन गर्न असार मसान्त सम्मका लागि विभिन्न पदमा स्वयंसेवक माग गरेको थियो ।

आवेदन लिएको लामो समय बितिसक्दा सम्म मन्त्रालयले स्वयमसेवक नियुक्ति गर्न नसक्दा प्रदेश सरकारका विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा अन्योलता देखिएको छ । 

मन्त्रालयले इन्जिनियर, सब इन्जिनियर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अहेब, अनमी, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट, वैद्य, अमिन, कृषि र भेटनरी जेटिए पदमा पाँच महिनाका लागि एक सय ४६ जनाको दरबन्दीमा आवेदन खोलेको थियो । 

प्रदेशभर बाट झन्डै ३५ सय जनाले आवेदन दिएका थिए । जसमध्ये इन्जिनियर विषयका स्वयमसेवकहरु लाई मात्र कार्य क्षेत्रमा खटाइएको छ । 

यता सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले मन्त्री र सचिव औपचारिक कार्यक्रममै व्यस्त भइरहेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बताए । उनले मन्त्रालयबाट छनौट पक्रियाको लागी व्यवस्थापन खर्च निकासा नभएको हुँदा पनि स्वयम सेवक छनौट समितिले काम गर्न नसकेको तर्क गरे । 

त्यस्तै उपसचिव चिलुवालले आफूहरूलाई नतिजा प्रकाशन गर्ने अख्तियारी नभएको बताए । उनले भने “आन्तरिक तयारी गरिरहेका छाँै, सम्बन्धित निकायबाट नतिजा प्रकाशन गर्ने अनुमति आए चाडै प्रकाशन गर्ने तयारीमा छौँ ।”

तर यति लामो समयसम्म नतिजा प्रकाशन हुन नसक्नुले भागबण्डा नेताहरूको नमिलेको कुरालाई बल पुगेको छ । 

छनौटमा पर्ने स्वयंसेवकले प्रदेश सरकार तथा सङ्घीय सरकारले कार्यक्रम थपेको खण्डमा बढीमा दुई वर्षसम्म स्वयंसेवक भएर काम गर्न पाउनेछन् । स्वयंसेवकलाई न्यूनतम पारिश्रमिकको ५० प्रतिशत मात्रै निर्वाह भत्ताका रूपमा भुक्तानी गर्ने मन्त्रालयले तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्