एक फुटबल खेलाडीमा कोरोना पुष्टि



काठमाडौंः अखिल नेपाल फुटबल संघले विश्वकप तथा एसियाकपको छनोटका लागि क्याम्पमा बोलाएको १ खेलाडीमा कोरोना पुष्टि भएको छ ।

एन्फाले सोमबार र मङ्गलबार गरेर क्याम्पमा परेका ३४ खेलाडीसहित कुल ५४ जनाको पिसिआर परीक्षण गराएको थियो । पाटन अस्पतालसँगको सहकार्यमा भएको परीक्षणमा बिहीबार ५३ जनाको रिपोर्ट नेगेटिभ आउँदा एक जनाको भने शंकास्पद भन्दै पुनः परीक्षण गरिएको थियो ।

पुनः परीक्षण गरिएका ती व्यक्तिमा कोरोना देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती २० वर्षीय खेलाडीको नाम भने गोप्य राखिएको छ ।

नेपालमा सक्रिय खेलाडीमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो । यसअघि एक पूर्व क्रिकेटर तथा एक प्रशिक्षकमा पनि कोरोना पुष्टि भएको थियो । उनको रिपोर्टको अध्ययन गरेर सम्पर्क गर्ने र उनको स्वास्थ्य अवस्था अनुसार घरमा नै सेल्फ आइसोलेसनमा बसे हुने हो वा अस्पताल नै भर्ना गर्नुपर्ने हो भन्ने कुराको निर्णय गरिने महाशाखाले जनाएको छ । हाललाई घरमा सेल्फ आइसोलेसनमा बस्ने सल्लाह दिइएको छ ।

प्रकाशितः साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्