मुख्यमन्त्री भट्टद्वारा बाढी प्रभाबित क्षेत्रको अनुगमन, बाढी ग्रस्त क्षेत्रमा स्वास्थ्य समस्या



भजनीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको बाढी प्रभाबित क्षेत्रको अनुगमन गरेका छन् ।

उनले आज बाढी प्रभाबित क्षेत्र भजनी, जोशिपुर लगाएका बाढी प्रभाबित क्षेत्रमा अनुगमन गरेका हुन् । बाढीमा ज्यान गुमाएको परिवारसँग भेटघाट, बाढीबाट प्रभावित क्षेत्रका पीडित जनताहरुको अवस्था, बाढीले गरेको क्षति, कृषिमा भएको क्षति र नदी कटानको अवस्थाको बारेमा निरिक्षण तथा अनुगमन गरिएको छ ।

उनले डुबान क्षेत्रको अनुगमन गर्दै तत्कालिन र दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताए । उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले संघिय सरकारलाई समेत सहयोग गर्न आफुहरुले पहल गर्ने जानकारी दिए ।

त्यस्तै भजनी नगरपालिकाको बाढी ग्रसित क्षेत्रमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गएको छ । जसबाट बालबालिका र जेष्ठ जागरिक प्रभावित छन् । साउन १४ गते आएको बाढी पछि लगातारको वर्षातले भजनी नगरपालिकाको वडा नं. २, ३, ६ र ८ को अधिकांस स्थान अहिले पनि जलमग्न छ ।

बाढीपछि वर्षातले गर्दा अहिले पनि उक्त स्थानका बासीले घरमा बस्न नसकेको अवस्था छ । बाढीको डुबान पछि जलमग्न रहेकोले अहिले शुद्ध खानेपानीको अभाव तथा सरसफाईको कमी, फोहर पानीले उक्त क्षेत्रमा दैनिक स्वास्थ्य समस्या देखा पर्दै गएको हो ।

बाढी पिडितहरुलाई रुघा खोकी, ज्वरो, अंग चिलाउने, झाडापखालाको समस्या देखा पर्दै गएको स्थानिय वडा नंं ८ की शान्ति देवी चौधरीले बताईन् । बाढी पीडित क्षेत्रमा बालबालिका र जेष्ठ नागरिकलाई धेरै समस्या रहेको हुनाले नगरपालिकाले स्वास्थ्य शिविर संचालन गरि सेवा दिनुपर्ने वडा नं. ८ कै हेमा चौधरीको माग छ ।

यता नगरको विभिन्न स्थानमा स्वास्थ्य समस्या देखा पर्दै गएकोले नगरपालिकाले स्वास्थ्य चेकजाँच गरी औषधी वितरण गरिरहेको भजनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृतिसिंह विकले बताए । उनले आवश्यक औषधीको पर्याप्तता रहे पनि अधिकाँस स्थान जलमग्न रहेकोले सबै स्थानमा सेवा दिन नसकेको बताए । समस्यालाई मध्यनजर गरी व्यवस्थापनसहित सेवा विस्तार गर्ने उनको भनाइ छ ।

प्रकाशितः साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्