जनकपुर बमकाण्डका मुख्य याेजनाकार भनिएका सञ्जय साहकाे अन्तिम सुनुवाइ सुरु



जनकपुरधाम : जनकपुर बमकाण्डको अन्तिम सुनुवाइ जिल्ला अदालत धनुषामा आइतबारदेखि सुरु भएको छ।

जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा मुद्दाउपर सुनुवाइ सुरु भएको हो। आइतबार बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ। पक्ष र विपक्षीका कानुन व्यावसायीहरुले बहस गरिसकेपछि मुद्दाको अन्तिम फैसला आउनेछ।

जनकपुरको रामानन्द चोकमा ७ वर्षअघि अर्थात २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै धर्नास्थलमै बम विस्फोट भएको थियो। मिथिला राज्य संघर्ष समितिले राखेको धर्ना कार्यक्रममा विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो। अन्य ४० जना घाइते भएका थिए।

बम विस्फोटमा परी चर्चित रंगकर्मी रञ्जु झाका साथै स्थानीय झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो। बम विस्फोटका मुख्य योजनाकार भनिएका तत्कालीन सांसद संजयकुमार साह(तक्ला) अहिले पुर्पक्षका लागि हिरासतमा छन्।

साहका साथै घटनामा संलग्न रहेको आरोपमा तत्कालीन तराई जनतान्त्रिक पार्टी मधेश नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी, ओमप्रकाश यादव, मुकेश कर्णलगायत व्यक्तिसमेत पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्