च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरियो बार्सिलोना



काठमाडौंः स्पेनिस क्लब बार्सिलोना लज्जास्पद हारसहित च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोनाले जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिखबाट ८ गोल खाएर स्तब्ध भएको हो ।

बार्यनले लियोनल मेस्सी कप्तानीको बार्सिलोनालाई ८–२ ले पराजित गरेको हो । चौथो मिनेटमा गोलको खाता खोलेको बार्यन म्युनिखले ८९ औँ मिनेटमा आठौँ गोल गरेको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५७ औँ मिनेटमा एक गोल फर्काए ।

त्यसअघि सातौँ मिनेटमा बार्यनका डेविड अलाबाले आत्मघाति गोल गरेका थिए । बार्यन म्युनिकका लागि थोसम मुलर र फिलिप कोन्टिन्होले २–२ गोल गरे । मुलरले चौथो र ३१ औँ तथा कोन्टिन्होले ८५ र ८९ औँ मिनेटमा गोल गरेका हुन् । इभान पेरिसिकले २१ औँ, सर्गेई ग्नाब्रीले २७ औँ, जोशुआ किमिचले ६३ औँ तथा रोबर्ट लेवान्डोस्कीले ८२औँ मिनेटमा गोल गरेका हुन् ।

पहिलो हाफमा ४ गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल गरेको हो । बार्यनका सामु बार्सिलोना निकै निरिह देखियो । बार्यन म्युनिख बार्सिलोना विरुद्ध च्याम्पियन्स लिगमा पाँच भन्दा धेरै गोल गर्ने पहिलो टिम हो ।

बार्सिलोनाका लागि यो हार मात्रै नभएर अपमान पनि हो । सन् १९५१ यता बार्सिलोना पहिलो पटक ६ भन्दा बढी गोलको अन्तरमा भएको पराजय हो उसका लागि । सन् १९५१ मा बार्सिलोना स्पानियोलसँग ६–० ले पराजित भएको थियो । यस्तै सन् १९४६ यता पहिलो पटक बार्सिलोनाले एकै खेलमा ८ गोल खाएको छ ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्