प्रदेश सरकारले खेलाडीको ऊर्जा र योगदानको कदर गर्छ : मुख्यमन्त्री राउत



जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेलाडीमाथि राज्यबाटै विभेद हुँदै आएको बताएका छन्। उनले जनकपुरको बाह्रबिघास्थित रंगभूमि मैदानमा तेस्रो सहिद कप टि–२० क्रिकेट प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री राउतले खेलाडीहरूको उचित सम्मान हुन नसकेको बताएका हुन्।

मुख्यमन्त्री राउतले एसिया कपमा स्वर्ण पदक जितेका खेलाडीलाई प्रदेश २ सरकारले ५÷५ लाख रुपैयाँ जनही दिएको दाबीसमेत गरे। उनले खेलाडीलाई प्रोत्साहन दिन प्रदेश सरकारले उनीहरूको ऊर्जा र योगदानको मूल्यांकन गरी उचित ठाउँ दिने बताएका छन्।

भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रतियोगिताबाट प्रदेशका खेलाडीको प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गरेका छन्। प्रदेश २ सरकारले परम्परागत खेल प्रवद्र्धन गर्ने नीति लिएको मन्त्री सोनलको कथन थियो। उनले भने, ‘सरकारले खेललाई प्राथमिकतामा राखेको छ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले, ‘मधेसमा खेललाई प्राथमिकता दिएर सरकार अगाडि बढ्छ।’ खेलकुदकै माध्यमबाट युवामा रचनात्मक परिवर्तन गर्न सकिनेसमेत उनले बताए। सहिदका परिवारलाइै मुख्यमन्त्री राउतले माला र दोसल्ला पहिराएर सम्मान गरेका थिए। 

कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री यादव, उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मन्डल, प्रदेशसभा सदस्य कौशल यादव, सुरिता साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झा, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख शेखर खनाल, क्रिकेट संघ धनुषाका राजु चौधरी, उद्योग वाणिज्य संघ प्रदेश २ समितिका शिवशंकर साह हीरालगायत उपस्थिति थियो। 

रितेश सिंहको अध्यक्षतामा भएको उद्घाटनमा सबैको स्वागत युवा नेता ज्ञानेन्द्र झा ज्ञानूले गरेका थिए। सोमबार सुरु टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल आयोजक जनकपुर र ओएसिस क्रिकेट एकेडमी काठमाडौंबीच हुनेछ। ९ दिन सञ्चालन हुने प्रतियोगिताको अन्तिम फाइनल खेल १९ गते हुने आयोजकले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्