ओली-मोदी टेलिफोन वार्ताः द्विपक्षीय विषयमा छलफल गर्न सहमत



काठमाडौंः नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो ।

प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग आज (शनिबार) दिउँसो टेलिफोनमा कुराकानी गरेको र उनीहरु भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले गत चैत २८ गते प्रधानमन्त्री मोदीसँग भएको कुराकानीको स्मरण गर्दै भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र स्वयं आफ्नातर्फबाट प्रधानमन्त्री मोदी र उनीमार्फत् भारत सरकार र जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भारतका जनताको निरन्तर प्रगति र समृद्धिको शुभेच्छा पनि प्रकट गरेका छन् ।

‘स्वतन्त्रता दिवसका अवसरमा आज गर्नुभएको सम्बोधनमा प्रधानमन्त्री मोदीले छिमेकलाई नवीकृतरुपमा प्राथमिकतामा राखिएको बताउनुभएकामा प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो’–मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ-‘नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गर्नुभयो ।’

कुराकानीका क्रममा दुवै देशका प्रधानमन्त्रीले (कोभिड-१९) विरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदान-प्रदान गर्नका साथै महाव्याधिका क्षेत्रमा सहकार्य गर्न सहमत भएका हुन् । महामारीबाट नेपाली जनतालाई जोगाउन तथा त्यसविरुद्ध नेपाल सरकारका प्रयासबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको खोप चाँडोभन्दा चाँडो विकास हुनुपर्नेेमा जोड दिए ।
उनले भारतसहित विश्वका वैज्ञानिक त्यस्तो खोप विकास गर्न सफल हुने र त्यसले रोगको रोकथाम र फैलावट नियन्त्रणमा योगदान गर्ने आशा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत निर्वाचित भएकामा प्रधानमन्त्री मोदीलाई बधाइ ज्ञापन गर्दै उक्त निकायको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न भारतलाई सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरे ।

रासस

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्