लिदी पहिरोमा हराइरहेका १८ जनाको शव भेटियो



सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

शनिबार थप सात जनाको शव फेलापरेसँगै मृतकको संख्या १८ पुगेको हो । शुक्रबार ११ जनाको शव फेलापरेको थियो । पहिरोमा पुरीएर अझै २१ जना बेपत्ता रहेका छन् । उनीहरु सबैको परिचय खुलेको छ ।

जुगल गाउँपालिका २ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको हो ।

यस्तै हिजो ३६ वर्षकी टिकामायाँ दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको थियो ।

पहिरोमा पुरिएर शनिबार जीवितै उद्वार गरिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भइरहेको छ । ९ वर्षका रुपबहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने आज भेटिएका दावा ग्याल्बो दोङसहित ५ जनाको चौतारा र काठमाडौमा उपचार भइरहेको छ ।

हराइरहेका अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्