कामदार लैजाने विषयमा नेपाल–जापान सम्झौता, नेपाली श्रमिकलाई जापानी सरह सेवा सुविधा



काठमाडौं : नेपाली कामदार रोजगारीका लागि जापान पठाउन दुई देशले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार कामका लागि जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् । नेपाली श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक जापानी नागरिकले सोही कामका लागि प्राप्त गर्ने पारिश्रमिक सरह वा सो भन्दा बढी हुने समझदारी भएको हो । 

जापान जान चाहने नेपाली कामदारले जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्नेछ । सोमबार भएको समझदारीअनुसार कामदार भर्ना र आपूर्तिका लागि छुट्टै सरकारी संयन्त्र बनाइनेछ । यसैमार्फत नेपाली कामदार जापान पठाइनेछ ।

साथै कामदार जापान जाँदा लाग्ने लागत लगायतका विषय सहसचिव स्तरको द्वीपक्षीय प्राविधिक समितिमार्फत टुंगो लाग्ने बताइएको छ ।

जापानले अप्रिल १ देखि चौध कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ । जापानले कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टि«क, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हजाई उद्योगमा श्रमिक लिनेछ ।

श्रम मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले नेपालीका लागि सबै कार्यक्षेत्र खुला भएपनि कुन क्षेत्रमा कति कामदार भन्ने निश्चित हुन बाँकी रहेको जानकारी दिए । 

जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिनेछ ।

पहिलो वर्ग (एसएसडब्लू–आई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापान बस्न पाउँछन् । दोस्रो वर्ग (एसएसडब्लू–आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ ।

डाक्टर, नर्स, इन्जिनियर लगायतले यस्तो भिसा पाउनेछन् । यस्ता कामदारको भिसा अवधि थप गर्न सकिने र परिवारका सदस्यहरुलाई समेत जापान लैजान सक्ने सुविधा हुने समझदारी भएको छ ।

नेपाली श्रमिक जुन कार्यक्षेत्रमा गएका छन्, त्यही कार्यक्षेत्रमा रोजगारदाता परिर्वतन पनि गर्न सक्नेछन् । यसमा सामाजिक रोजगार सेवा केन्द्रले सहयोग र समन्वय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्