मुस्ताङको छैरोमा सुख्खा पहिरो, कालिगण्डकी करिडोरको ३ सय मिटर बाटो बगायो



म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा गएराति गएको सुख्खा पहिरोले कालीगण्डकी करिडोरको ३ सय मिटर बाटो, स्वास्थ्य चौकी र एउटा गोठ बगाएको छ।

तिब्बती शरणार्थी शिविरनजिकै  राति २ बजे गएको पहिरोले एउटा स्वास्थ्य चौकी, स्नान घर, ३ सार्वजनिक शौचालय र एउटा गाईगोठ बगाएको छ। साथै ८ घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मुस्ताङबाट पत्रकार सुशील थकालीले दिएको जानकारीअनुसार ६३ घर रहेको शरणार्थी शिविरमा ५० वटामा मात्र तिब्बतीहरू बसोबास गर्छन्। बाँकी सामुदायिक भवन, स्वास्थ्य चौकी, खेल्न बनाइएको घर, विद्यालय, कभर्ड हल, सार्वजनिक शौचालय, गाईगोठ र गुम्बा छन्।

राति खस्न थालेको पहिरोले बिहानसम्म करिब ३० लाख रुपैयाँको क्षति गराएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका हवलदार टेकबहादुर श्रेष्ठले बताए। छैरो गाउँ, टिबेटन क्याम्प र चिमाङ गाउँ आउजाउ गर्ने कालीगण्डकी करिडोरको करिब ३० मिटर बाटोसमेत पहिरोले बगाएको उनले बताए ।

५० मिटर उचाइसहितको करिब ३ सय मिटर लामो बाटो पूरै पहिरोले बगाएको छ। ‘हिजो मात्र डोजर ल्याएर खनेका थियौं तर राति अचानक पहिरो आयो,’ उनले भने, ‘रातारात सुरक्षित स्थानतर्फ गयौं। अहिले पहिरोको उच्च जोखिममा रहेका ८ घरका बासिन्दा छिमेकीकहाँ शरण लिन बाध्य भएका छन् ।’स्थानीय फुन्चोकका अनुसार रातभरि नसुती छिमेकीकहाँ गाउँलेले सामान ओसारेका थिए ।

विश्वव्यापी रूपमा टाउको दुखाइ बन्न थालेको जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिन थालेको छ । जलवायु परिवर्तनले हिमस्खलन हुने क्रम बढेको छ। यसले ठूलो खतरा निम्त्याउने विश्वभरिका वातावरणविद्हरूले चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्