सिंहदरबारभित्रकै महिला कर्मचारीबीच किन विभेद ?



काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी नासु अमृता भट्टराई आफ्नो करिब एक वर्षको शिशु लिएरै कार्यालय जान्छिन् । उनको कार्यालय देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्र छ। घरमा रेखदेख गर्ने कोही नभएकाले र बेला बेला स्तनपान गराउनु पर्ने भएकाले पनि उनी शिशुलाई आफूसँगै लिएर सिंहदरबारस्थित कार्यालय जाने गर्छिन्।

सिंहदरबारभित्र अहिले निजामती सेवामा कार्यरत महिलाका यस्ता स–साना शिशुहरूका लागि दिवा शिशु स्याहार केन्द्रमा राख्ने व्यवस्था छ। 

तर कार्यालयभन्दा अलिक पर रहेको स्याहार केन्द्रमा राख्दा शिशुलाई उसको समयअनुसार स्तनपान गराउन कठिन भएको उनले सुनाइन्। ‘बच्चालाई केन्द्रमा राख्ने सुविधा त छ, तर के गर्नु कार्यालयभन्दा टाढा भएसी उसलाई भोक लागेका बेला स्तनपान गराउन समस्या छ’, उनले भनिन्, ‘बच्चा छाडेर काममा गयो, उता बच्चा भोकाउँछ, आफू घरिघरि अफिसबाट निस्कन मिल्दैन।’

आफ्नो समय मिलाएर जाँदा स्याहार केन्द्रमा शिशु निदाइसकेको हुने उनले बताइन्। ‘खाजा खाने बेलामा जाँदा कहिले बच्चा निदाएको हुन्छ, कहिले त्यहीँको खाना खाइसकेको हुन्छ’, उनले भनिन्, ‘कार्यालयमै स्तनपानकक्ष भए बच्चा आफ्नै अगाडी हुन्छ । काम गर्ने ठाउँमै स्तनपान गराउन पाए बच्चा भोकाएको बेलामा खुवाउन पाइन्थ्यो।’

अमृता त कमसेकम शिशु स्याहार केन्द्रमा आफ्नो शिशुलाई राख्छिन् र काम गर्छिन्। तर एउटै कम्पाउन्ड अर्थात् सिंहदरबार परिसरभित्रै काम गर्ने अनिता श्रेष्ठ भने शिशु स्याहार केन्द्रमा आफ्नो शिशु राख्न पाउँदिनन्।

सिंहदरबारभित्रको स्याहार केन्द्र निजामती कर्मचारीको लागि मात्र हो। अनिताले आफ्नो छोरालाई स्याहार केन्द्रमा राख्ने भए बग्गीखानास्थित प्रहरीको शिशु स्याहार केन्द्र लैजानु पर्छ, जुन उनका लागि पायक पर्दैन।

सिंहदरबारको पूर्वी गेटमा शिशु बोकेरै प्रहरी जवान अनिता ड्युटी गरिरहेकी छन्। सिंहदरबारमा आउजाउ गर्ने कर्मचारी र सेवाग्राहीको जाँच गर्दा उनीसँगै एक बालक पनि देखिन्छन्। दगुर्दै आएर छोरा आफ्नो काखमा बसेपछि उनी केही खान दिन्छिन्। 

छोरालाई काखमा बोकेरै सिंहदरबारभित्र प्रवेश गर्ने र निस्कनेमाथि निगरानी गर्नु उनको दैनिकी हो। ‘छोरा पनि सँगै ल्याउनुभएको ?’ प्रश्न सोधी नसक्दै उनले तीन महिनादेखि त्यसरी नै काम गरिरहेको बताइन्।

सुरक्षित मातृत्व तथा प्रजनन अधिकारसम्बन्धी ऐन २०७५ मा सरकारी, गैरसरकारी र निजी संघ संस्थाले कार्यालयमा महिला कर्मचारीका २ वर्षसम्मका शिशुलाई कार्यालय समयमा स्तनपान गराउन छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान छ। 

यस वर्षभित्र विमानस्थल, अस्पताललगायत विभिन्न कार्यालयमा कम्तिमा पनि ३० वटा स्तनपानकक्ष र शिशु स्याहार केन्द्र बनाउने घोषणा सरकारले गरेको थियो। 

तर देशकै मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र कार्यस्थलमा स्तनपानकक्ष नै छैन। भएको शिशु स्याहार केन्द्र पनि राम्रो छैन। सिंहदरबार परिसरमा कार्यरत महिला कर्मचारीका लागि पनि उक्त दिवा शिशु स्याहार केन्द्र पर्याप्त छैन।

अझ अनिताजस्तै सुरक्षाकर्मीलाई सिंहदरबारभित्रको दिवा शिशु स्याहार केन्द्रमा राख्ने अनुमति छैन। सिंहदरबारमा आफूजस्तै अन्य सुरक्षाकर्मी र निजामतीबाहेकका महिला कर्मचारीलाई शिशु स्याहारको समस्या रहेको अनिताको गुनासो छ। 

सुरक्षा निकायका कर्मचारीका लागि बग्गीखानामा शिशु स्याहार केन्द्र छ। ‘तर बग्गीखानामा छोरा राखेर सिंहदरबारको  ड्युटी कसरी गर्ने ? बग्गीखानामा राख्दा असहज भएकाले यतै ल्याएकी’, अनिताले भनिन्, ‘भोकाएको बेलामा दूध खुवाउन जाने समय पनि मिल्दैन, यहाँको केन्द्रमा निजामती कर्मचारीले मात्रै बच्चा राख्न पाइन्छ।’ 

अनिताजस्ता सुरक्षाकर्मी र निजामतीबाहेकका कर्मचारीका समस्याले देशको प्रमुख प्रशासनिक निकायलाई गिज्याइरहेको छ। यसबाट सिंहदरबार कति महिलामैत्री छ प्रष्ट हुन्छ। 

‘काम एकातिर छ, सुविधा अर्कोतिर कसरी उपभोग गर्ने ?’, ड्युटी गर्दा छोरालाई स्तनपान गराउन समस्या हुने गरेको अनिताले सुनाइन् । ‘मानिसहरूको ओहोरदोहोर भइरहन्छ ड्युटीमा कसरी स्तनपान गराउनु ?’, उनले भनिन्, ‘छेउ लागेर बाबुलाई दूध खुवाउनुपर्छ महिलालाई कति कठिन छ स्याहार केन्द्रमा राख्न पाए अहिलेजस्तो च्यापिराख्नु त पर्थेन। भुँइमा छाडौं भने केही होला भन्ने डरले काममा राख्दाराख्दा बाबु यति ठूलो भैसक्यो।’

 

सिंहदरबारभित्र कुनै पनि मन्त्रालयमा शिशु स्याहार कक्ष छैनन्। जम्मा एउटा मात्र छ र त्यहाँ शिशुको संख्या तोकिएभन्दा बढी राख्न पाइँदैन। 

स्याहार केन्द्रमा राख्नका लागि पनि गर्भवती हुँदा नै नाम टिपाउनुपर्ने महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत शाखा अधिकृत पवित्रा ढकालले जानकारी दिइन्। उनले भनिन्, ‘मेरो बच्चा त अहिले शिशु स्याहार केन्द्रमै छ तर त्यहाँ बच्चा राख्न निकै समस्या छ। फेरि कोटा पुगेपछि राख्न पाइँदैन, पेटमा हुँदा नै नाम टिपाउनुपर्छ।

कतिले त बच्चा राख्न नपाएर बिदा बस्नुपरेको छ।’पवित्रासँग कुरा गरिरहँदा सोही मन्त्रालयमा कार्यरत उषा थापाले भनिन्, ‘एक जना म्याडमले त बिदै लिएर बस्नुपरेको छ।’ सरकारले स्तनपान दर बढाउने लक्ष्य लिएको छ। 

सबै कार्यालयमा आमा कर्मचारीको सहजताका लागि स्तनपानकक्ष स्थापना गर्ने नीति लिएको सरकारले बताए पनि मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्रका स–साना छोराछोरी भएका आमा कर्मचारीका समस्या यस्ता छन् भने झन् काठमाडौं बाहिर काम गर्ने महिला कर्मचारीको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ।

 

कार्यालय र स्याहार केन्द्र टाढा हुँदा कसैले काखैमा बोकेर काम गरिरहेका छन्। केहीले असहज हुँदाहुँदै केन्द्रमा बच्चा छाडेर काम गरिरहेका छन्। महिला कर्मचारी सुत्केरी बिदा सकिएपछि शिशु कसरी हुर्काउने समस्याले चिन्तित हुने र शिशु घरमै भए काम प्रभावकारी नहुने भएकाले न्यूनीकरण गर्न सरकारले यस्तो नीति तथा योजना बनाएको हो।  

सर्वोच्च अदालतले पनि चैत १० गते न्यायपालिकामा कार्यरत महिला कर्मचारीको यस्तै समस्या समाधान गर्न दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरेको छ। 

प्रतिक्रिया दिनुहोस्