राजधानीमा मेलम्चीकाे पानी : आस गर्नु, भर नपर्नु !



काठमाडौं : आस गर्नु तर भर नपर्नु भने जस्तै भएको छ मेलम्चीको पानी । मेलम्चीको पानी आउँछ आउँछ भनेको कयौँ वर्ष भैसकेको छ तर अझ कहिले आउँछ टुङ्गो लागेको छैन । 

सरकारले असोजमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने प्रतिबद्धता जनाएको थियो । पटक–पटक प्रतिबद्धता फेर्दै आएको सरकारले त्यसपछि नयाँ वर्षको सुरुमै उपत्यकामा पानी ल्याउने दाबी गर्‍यो । यसपटकको दाबीमा सरकारले आधार पनि प्रस्तुत गरेकाले पानी आउने कुरामा उपत्यकावासी करिब करिब ढुक्क थिए । तर सरकारको यो प्रतिबद्धता पनि बोलीमै सीमित भयो । 

अझै आयोजना निर्माणको ठेक्का पाएको सिएमसीले काम छोडेर गएपछि त झन् मेलम्ची अनिश्चित बनेको छ । 

ललितपुर बागडोल निवासी गेहेन्द्रराज अर्याललाई अब मेलम्ची आउने कुरा सपना जस्तै लाग्न थालेको छ । उनी भन्छन्, ‘राजधानीमा बस्ने भन्नु मात्र हो, ५ दिनमा १ दिन धारामा पानी आउँछ, त्यही पनि हारालुछ हुन्छ ।’ सरकारले वैकल्पिक व्यवस्था गरेर भए पनि रोकिएको मेलम्ची आयोजनाको काम अगाडि बढाउनु पर्ने उनको धारणा छ । 

कलङ्कीका विष्णु लम्साललाई त मेलम्ची भनेको सुन्दा पनि दिक्क लाग्न थालेको छ । ‘यतिका वर्ष भइसक्यो मेलम्चीको पानी आयो आयो भनेको तर सबै भनाइ मात्रै ।’ उनी भन्छन्, ‘अब त मेलम्चीको कुरा सुन्दा नै दिक्क लाग्छ । सरकारले छिटो काम सकेर काठमाडौंमा पानी अभावको समस्या समाधान गर्नुपर्छ ।’ 

आर्थिक सङ्कट भएको कारण देखाउँदै गत पुस २ गते इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेपछि मेलम्चीको हेढबक्सर र सुरुङ तर्फको काम ठप्प छ । अहिले ८ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको काम भारतीय कम्पनीले गरिरहेको छ । 

उता सरकारले रोकिएको काम अघि बढाउने सङ्केत देखाएको छ । यो हप्ता भित्र रोकिएको काम सञ्चालनका लागि आवश्यक कागजपत्र तयार गरी नयाँ ठेक्का प्रक्रियाको लागि बोलपत्रको आह्वान गरिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए । बोलपत्र आह्वान र ठेक्का प्रक्रियाबाहेक मेलम्चीमा रोकिएको काम सम्पन्न गर्न ३ महिना मात्र लाग्ने पन्तको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्