मकवानपुर गोल्डकप : भरतको ह्याट्रिक, पुलिस सेमिफाइनलमा 



मकवानपुर : नेपाल पुलिस क्लब हेटौंडामा जारी दोस्रो मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा सम्पन्न खेलमा फ्रेण्डस क्लब काठमाडौंलाई ३–० ले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो।

पुलिसको जितमा स्ट्राइकर भरत शाहले ह्याट्रिक गरे। भरतले खेलको १२, ४२ र ४३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको ‘म्यान अफ दि म्याच’ पनि भरत नै घोषित भए। पुलिसले अब फाइनल प्रवेशका लागि आयोजक मकवानपुर–११ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताअन्तर्गत मंगलबार थ्री स्टार र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा घरेलु टोली मकवानपुर ११, विदेशी क्लब दाफिन्स एफसीसहित ‘ए’ डिभिजनका आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैंया, मेडल र प्रमाणपत्र पाउने छन्।

प्रतिक्रिया दिनुहोस्