घाइते भेटिएका शिक्षकको मृत्यु, हत्या भएको आशंका



काठमाडौं : बझाङको दुर्गाथली गाउँपालिका–६, चुवावन स्थायी घर भई रामेछापको सुनापति गाउँपालिका–६ मा रहेको डहु माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक मोहन महतको हत्या भएको आशंका गरिएको छ । गत फाल्गुन २१ गते विद्यालयको शौचालय नजिकै घाइते अवस्थामा भेटिएका उनलाई धुलिखेल अस्पताल पुर्‍याइएको थियो। 

धुलिखेल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौँको केएमसी अस्पतालमा रिफर गरिएको थियो । उनको काठमाण्डौको केएमसी अस्पतालमा उपचारकै क्रममा चैत ३ गते निधन भएको थियो ।  

महतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि प्रहरीले सत्य तथ्य पत्ता लगाउने आश्वासन दिएको थियो । तर घटना भएको २० दिनसम्म पनि प्रहरीले अनुसन्धानमा आलटाल गरेको भन्दै आफन्तले आपत्ति जनाएका हुन् । 

मृतकभाइते अवस्थामा फेला परेका महतोको हात र खुट्टा भाँचिएको तथा शरीरमा निलडाम रहेको आफन्तले जनाएका छन् । घटनाको प्रकृति हेर्दा विद्यालयमा नै नियोजित ढंगले उनको हत्या गर्न खोजेको देखिएको मृतकका भाइ वीरबहादुर महतले बताएका छन् । विद्यालयमा घटना भएको तीन दिनअघि देखि सिसी क्यामेरा नचल्नु, सोही दिन सुरक्षा गार्डलाई बिदा दिनु र बेलुकाको ८ बजे सम्म ट्युसन कक्षा सञ्चालन गर्नुले घटना झन् रहस्यमय बनाएको उनको भनाइ छ ।

प्रहरीको अनुसन्धान पारदर्शी बनाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन आफन्तले माग गरेका छन् । मृतक महतोका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्