पशुपतिमा थरीथरीका चन्दन



काठमाडौंः पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री कोठामा यस प्रकारको चन्दन बनाइन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

चन्दन घोट्ने हरि बुढाथोकीका अनुसार धुपी, अम्बा, पारिजात, भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिएको छ । पशुपतिनाथका बिसेट अरुण श्रेष्ठका अनुसार यस्ता चन्दन तयार हुने गरेको भए पनि चन्दन घोट्ने व्यक्ति आधिकारिक नियुक्तिका होइनन् र यो चन्दन पशुपतिनाथलाई अर्पण गर्ने गरिएकै छैन । उनले चन्दन माग गर्नेले यस्ता काठ ल्याउने गरेका छन् भन्ने सुनिएको जानकारी दिए ।

पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिए पनि यो चन्दन निजी प्रयोजनका लागि मात्र हुन सक्ने बताए । चन्दन बनाउनेले व्यक्तिको माग अनुसार तयार गर्ने गरेको छ, बिहान आउने भक्तजनले चन्दन मागेमा चिनेजानेका आफन्तलाई सालको पातमा बेरेर दिइने चन्दन यही हो ।

प्रतिक्रिया दिनुहोस्